

प्रकाश पौडेल गुलरिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । बिदाको दिनमा सरकारी सवारी साधन बिना अनुमति चलाएकोले बाँकेमा नियन्त्रणमा लिएको हो ।

सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाइने व्यवस्था रहेको छ । कार्यालय प्रयोजनको लागि सवारी साधन चलाउनै परे सम्बन्धित निकायबाट अनुमति लिनू पर्ने हुन्छ । तर अधिकांश सरकारी कार्यालयले अनुमति विना नै सवारी साधन चलाउँदै आएका छन् ।
अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले सार्वजानिक बिदाको दिन सरकारी सवारीसाधन व्यक्तिगत मोजमस्तीका लागि र घरपरिवारका सदस्य बोक्नका लागि प्रयोग हुने गरेको बताउनु भयो । उहाँले सरकारी सवारी साधन दुरुपयोग बढ्दै गरेको हुनाले सवारी साधनलाई नियन्त्रणमा लिएको बताउनु भयो । सार्वजनिक बिदाको दिनमा सवारीसाधन चलाउँदा अनुमति लिएर चलाउनु पर्छ भन्ने सन्देश दिन सवारीसाधन नियन्त्रणमा लिएको बताउनु भयो । उहाँले नियन्त्रणमा लिएको सवारीसाधन ट्राफिक कार्यालय बाँकेमा बुझाएको बताउनु भयो ।
महेन्द्र बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष माधव खत्रीले ५० भन्दा बढि सवारी साधन नियन्त्रण लिएको बताउनु भयो । उहाँले सरकारी सवारी साधन प्रयोग गर्ने भए के कारणले हो ? कहाँसम्म जाने हो सबै विवरण खुलाएर सवारी साधन प्रयोग गर्न आग्रह गर्नु भयो । उहाँले देश आर्थिक सङ्कटमा भएको समयमा सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर राष्ट्रको ढुकुटी दोहन गर्न नहुने बताउनु भयो । कार्यालयको कामको सिलसिलामा सरकारी सवारी साधनको प्रयोग गर्न पाइन्छ । तर अधिकांशले कार्यालयको सवारी साधन दुरुपयोग हुने गरेको छ ।