
गुलरिया, बर्दिया। २०७९ सालको मदन पुरस्कार विवेक ओझाको ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीले ओझाको आख्यान ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
यस अघि गुठीले मदन पुरस्कारको उत्कृष्ट पाँचवटा पुस्तकको नाम सार्वजनिक गरेको थियो । गुठीले सविन भट्टराइको इजोरिया, विवेक ओझाको ऐँठन, द्धारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगती राईको थाङग्रा, र सञ्जय विष्टको माटोको घर रहेको थियो ।

विगतमा नेपाल राष्ट्रको एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठन पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधी पनि मिसाई उत्कृष्ट औपान्यासिक कलाको उपयोगद्वारा नविन किसिमले व्यक्त गरेको हुदाँ यस वर्षको मदन पुरस्कार ओझाको ऐँठनलाई दिएको गुठीले जनाएको छ ।
त्यसैगरी गुठीले जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई दिने निणर्य गरेको हो । “अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्र मार्फत साहित्यानुरागीहरु माझमा पुर्याउन महत्वपूर्ण योगदान दिनु भएको” भन्दै गुठीले मुखियालाई जगदम्बा पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनु भयो ।
दुवै पुरस्कारकाे राशी चार लाख रुपैयाँ नगद सहित सम्मान पत्र रहेको छ । रानी जगदम्बाले २०१२ सालमा मदन पुरस्कार गुठीको स्थापना गर्नु भएको हो । गुठीको संस्थापिका स्व. रानी जगदम्बाको निधन पछि उहाँको सम्झना स्वरुप २०४५ सालबाट जगदम्बा–श्री पुरस्कार पनि दिन थालिएको हो ।


