विशाल बस्नेत, बर्दिया । गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुल निर्माणको माग राख्दै जनअभियान सञ्चालन भएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रको पहलमा सो अभियान सञ्चालन भएको हो ।
पप्पु निर्माण सेवाले निर्माण गरेको पुल २०७४ साउन २८ मा आएको बाढीले पुलको दुई वटा स्पान भासिएको थियो । साना सवारीसाधन तथा मानिसहरु सो भासिएको बाटोबाट आवतजावत गर्दै आएका थिए । तर २०७९ मा असोज २० गते आएको बाढीले पुलको तीनवटा स्पान बगाए पछि भने स्थानीयहरु डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ ।
जब्दी पुल निर्माण जनअभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले भत्किएको पुल समयमा निर्माण नहुँदा विरामी, बालबालिका, विद्यार्थी, महिला जेष्ठ नागरिक, अपाङ्ग लगायतले समस्या भोग्नु परेको बताउनु भयो । उहाँले सरकारमा रहेका मन्त्रीले नै गरेको प्रतिवद्धता पुरा नभएकोले जन अभियानबाट दवाब सिर्जना गर्न लागिएको बताउनु भयो । सरकारले पुल निर्माणको बजेटको सुनिश्चितता नगरे सडक जनअभियान गर्ने अभियान्ता श्रेष्ठले बताउनु भयो ।
बारबर्दिया नगरपालिका‐११ का जब्दीका रामप्रसाद थारुले पुुल नहुदाँ निकै समस्या भोग्नु परेको बताउनु भयो । उहाँले नदीमा आवतजावत गरे बापत वर्षको १२ नम्बर धान बुझाउने गरेको बताउनु भयो । पुल चाँडो भन्दा निर्माण हुनुपर्ने र आवतजावतको लागि सहज व्यवस्थापन हुनुपर्ने माग राख्नुभयो । जनताको भोट पाएर निर्वाचित भएका जनप्रतिनिधि र सरकारले जनताको समस्या नसुन्नु दुःखद भएको थारुले बताउनु भयो । उहाँले भन्नुभयो, ‘क्षतिग्रस्त पुलको वारिपारि पक्की सडक बनिसकेको कारण पुल बन्न आवश्यक छ । विभिन्न राजनैतिक दलका नेताहरुबाट पुल बन्ने आश्वासन पाएका नागरिकहरुले नेताहरुलाई पुल नबनाई झुटो आश्वासन लिएर आफ्नो ठाउँमा भोट माग्न नआउन म सचेत गराउन चाहान्छु ।
पुलका निर्माणका लागि धैरे पटक आवाज उठेपनि पुल निर्माण हुन सकेको छैन् । पुल निर्माणका साथैं अन्य १५ बुँदे माग सहित बैशाख ३० गतेबाट बर्दिया क्षेत्र नंं. १ का सासद सञ्ञय गौतमले सो भासिएको पुलमा आमरण अनसन बस्नु भएको थियो । पुल निर्माणको सुनिश्चित गर्न नेपाल सरकारका भौतिक योजना मन्त्री प्रकाश ज्वाला सहित नेपाली काँग्रेसका नेताहरुको जम्बो टोली आएर सहमति गरेपछि सासद गौतमको ८ औ दिनमा अनसन तोड्नु भएको थियो । तर पनि पुल निर्माण लागी बजेट सुनिश्चित हुन सकेको छैन ।
हाल जब्दीघाटमा सञ्चालनमा रहेको काठको पुलबाट आवतजावत गरे वापत प्रति व्यक्ति १० रुपैया, साइकल १० रुपैया, मोटरसाइकलको १५ रुपैया तिरेर आवजजावत गर्न बाध्य रहेका छन् ।