कृष्णसार अनलाइन, गुलरिया । गुलरिया –५ सुहेलवामा थारू सांस्कृतिक माघ महोत्सव हुने भएको छ । थारू कल्याणकारी सभा जिल्ला कार्य समिती बर्दियाकोआयोजनामा माघ महोत्सव हुने भएको हो ।
थारू समुदायले परापूर्व कालदेखि माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । घरका ठूलाबडाको आशीर्वाद लिएर थारू समुदायले माघी मनाउँदै आएका छन् । माघमा थारू समुदायमा ढिकरी, घोँगी, बयरको चट्नी, बङ्गुरको मासु, माछा, मुसाको मासु तरुल, जस्ता परिकारको खाएर मनाउने गर्दछन् । माघीको अवसर पारेर माघी नाच, छोक्रा नाच, हुदुग्वा नाच, लठहवा लगायतमा नाच नाच्ने गरिन्छ । घरघरमा गएर नाच्ने गरिन्छ ।
थारू समुदायको कला भेषभूषा, सांस्कृतिक, कृषि तथा पर्यटनको प्रचारप्रसार संरक्षण गर्न प्रर्वद्धन गर्न थारू सांस्कृतिक महोत्सव गर्न लागिएको थारू कल्याणकारी सभाका अध्यक्ष वीरबहादुर थारूले बताउनु भयो । उहाँले पुषको २९ गते राती रामाबाग स्थित बबई नदीमा नुहाएर माघ १ गते माघ महोत्सवको उद्घाटन गरिने जानकारी दिनुभयो ।
अध्यक्ष थारू भन्नुहुन्छ– ‘ थारू समुदाय कला र संस्कृतिले धनी समुदाय हो । तर अहिले पुस्ताले आफ्नो कला, संस्कृति भेषभुषाको बारेमा बिसिँदै गएका छन् । त्यसको संरक्षण र प्रर्वद्धन गर्न माघ महोत्सव गर्न लागिएको हो ।’
महोत्सव माघ १ देखि ३ गतेसम्म गुलरिया –५ रामबागको मन्दिरको पाङगमा हुने महोत्सवमा थारू परिकारका, थारू समुदायको कला संस्कृतिको बारेमा प्रचारप्रसार तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।