

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश सेवा अनलाइन प्रणालीबाट सुरु गर्ने भएको छ । अब कामको लागि विद्यार्थीले काठमाडौंमा रहेको परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।
आगामी माघको पहिलो सातादेखि विश्वविद्यालयले प्रविधिमैत्री प्रणालीको सुरुवात गर्दै छ । यसका आइतबार विश्वविद्यालयका पदाधिकारीको उपस्थितिमा अनलाइन प्रणालीको डेमो ( नमुना प्रदर्शन गर्ने भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले अनलाइन प्रणाली लागू भएपछि विद्यार्थी परीक्षा नियन्त्रण कार्यालय धाइरहनु नपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अनलाइन प्रणालीको सुरुवात भएपछि विद्यार्थी आउनु पर्ने र शुल्क तिर्न बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । विद्यार्थीले घरैबाट कागजात पेस गर्न सक्ने छन् । शुल्क पनि अनलाइनबाटै तिर्न सक्ने छन् । ’

अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन लगायत कामका लागि भौतिक रूपमा उपस्थित हुनु पर्दैन । कार्यालयले अनलाइन प्रणालीबाट सेवा दिने गरी वर्षअघि नै तयारी गरेको थियो । तर सूचना प्रविधिका दक्ष जनशक्ति अभावले यो काम रोकिएको थियो ।
अनलाइनबाट प्रवाह गर्न सकिने अधिकांश सेवालाई अहिलेकै अवस्थाबाट विस्तार गर्न सकिने भए पनि सक्कली प्रमाणपत्र वितरणमा भने त्रिविले थप निर्णय गर्नुपर्ने परीक्षा नियन्त्रणको कार्यालयले जनाएको छ । बल्खु बाहेक नेपालगन्ज, अत्तरिया, पोखरा, विराटनगरमा रहेको क्षेत्रीय कार्यालयबाट परीक्षासँग सम्बन्धित काम भइरहेको छ । मधेश प्रदेशलाई लक्षित गरेर छिट्टै जनकपुर कार्यालयबाट पनि काम सुरुवात गर्ने तयारीमा विश्वविद्यालय रहेको छ । विद्यार्थीले माग गरेको कागजपत्र परीक्षा नियन्त्रण कार्यालयले केन्द्रीय तथा क्षेत्रीय कार्यालयमार्फत सम्बन्धित क्याम्पसमै पठाइदिने व्यवस्था पनि विश्वविद्यालय मिलाउने भएको छ ।
परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, ‘हामीले बनाएको योजना अनुसार काम भयो भने केही समयपछि विद्यार्थीको प्रमाणपत्र उनीहरूले दिएको घरको ठेगानामै पुर्याइदिने छौँ । यसका लागि हुलाकसँग पनि समन्वय गर्दै छौं, । अहिले सक्कली प्रमाणपत्रमा विद्यार्थी आफैँ उपस्थित भएर फोटो टाँस्न लगाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यार्थीले अनलाइनबाट अपलोड गरेको फोटो हाम्रा सूचना प्रविधिसम्बन्धी कर्मचारीले प्रमाणपत्रमा टाँस्ने छन् तर यसका लागि कार्यकारी परिषद्ले निर्णय गर्नु पर्छ ।’
परीक्षा नियन्त्रण कार्यालयसँग सूचना प्रविधिसँग सम्बन्धित छ जना कर्मचारी कार्यरत रहेका छन् । भने विश्वविद्यालयले अरु थप सात जना कर्मचारी माग गरिएको छ । अनलाइन प्रणालीको सुरुवात भएपछि देशका अन्यत्रबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन लगायत विश्वविद्यालयको केन्द्रिय कार्यालय जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । र विद्यार्थीहरूले कामका घरमा बसी बसी विश्वविद्यालयले प्रदान गर्ने लिन पाउने छन् ।