कृष्णसार अनलाइन, गुलरिया ।थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका–९ मा रहेको यस ठाकुरबाबा मन्दिरमा विवाह नगरेको कुमार केटा पण्डित रहने व्यवस्था छ । नेपालमै थारु जातिको पुजारी रहने एक मात्र धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिर हो । विशेषगरी निःसन्तान दम्पतीहरूले मन्दिरमा आई पूजा पाठ गरेमा सन्तान प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास बोकेको ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्न बर्दिया, कैलाली, बाँके, सुर्खेत र दाङलगायतका जिल्लाबाट एवम् भारतीय श्रद्धालु भक्तजनहरू आएका छन् ।
पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग गाँसिएको यस ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्न हजारौँको सङ्ख्यामा आउने श्रद्धालु भक्तजनहरूको मनोकाङ्क्षा पूरा हुने पुजारी बताउँछन् ।
प्रत्येक वर्ष पुष मसान्तको दिनमा रातभर भक्तजनहरु जागराम बसी माघ १ बिहानै पुजा गर्ने परम्परा रहेको छ । यस ठाकुरबाबा मन्दिर परिसरमा पुष २९ देखि ४ गतेसम्म परम्परागत धार्मिक मेला समेत लाग्ने गर्दछ ।