राज माङलाक
पारी देखिन्छ –गाउँ
तल खोला गरेर
उकालो लागेपछि
आमाको हत्केलामा
टुकुर टुकुर हिँडेर पुगिन्छ– लिम्बुनी गाउँ ।
त्यहाँ–
धान नाच्दै हुन्छन् तरुनी छोरीहरु
जाँडको डबुको राखेर हाक्पारे गाउँदै हुन्छन् बूढापाका
तङ्सिङ अनुष्ठान गर्दै हुन्छन् फेदाङ्माहरु
कुपीको उज्यालोमा देखिन्छ
आफ्नै सम्भता
फलैंचामा बसेर देखिन्छ
पूर्खाको इतिहास
बाँसको टुप्पा हल्लिदा देखिन्छ
आमाको आमा
अझै माथी पुगेपछि देखिन्छ
नाकमा टल्किएका ढुङ्ग्री–मुन्दी घरहरु
र आँखा जस्ता पाठशालाहरु
त्यहाँ –
खोस्रेर हेर्यो भने देखिन्छ
हरेक बिहानीले छोडेका बालापनहरु
त्यहीँका जूनतारालाई जिम्मा दिएर हिँडेर सौन्र्दय
र नब्बेसालको आपत पनि
त्यहीँ छ
हार्दिक र आत्मीयताले
छपक्क भिजेको माटो
गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
चुला छेउछाउमा बसेर लिम्बु दाइभाई
चुम्लुङ बसिरहेका हुन्छन्
यो देश हाम्रो पनि हो भनेर ।
साभार –२०७४ सालको मदन पुरस्कारको सूचीमा पर्न सफल लिम्बुनी गाउँबाट ।