Krishnasar_Dubble Ad
Barista_Training

अवैध लागू औषध सहित तीन हजार ४५ पक्राउ

Geruwa GIF

काठमाडौं । नेपाल प्रहरीले छ महिनामा तीन हजार ४५ जनालाई अवैध लागूऔषध सहित पक्राउ गरेको छ । प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सहित तीन हजार ४५ जनालाई पक्राउ गरेको हो ।

विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ । यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै नेपाल प्रहरी लागूऔषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय छ । अनुसन्धान, संलग्नलाई पक्राउ तथा कानुनी कारवाही गरिरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकाल भन्नुहुन्छ, ‘लागूऔषधको प्रकोपबाट धेरै युवाहरू कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ । ’

देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यिमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् ।

Basgadhi PSA_final

पक्राउ परेकाहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेस ३ सय ८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३ सय २६ ग्राम प्रहरीले बरामद गरेको छ । यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले  अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी  पक्राउ परे । त्यसैगरी भारतीय नागरिक किम्रो साङ्गी अवैध लागूऔषध कोकिन १ किलो ९७३ ग्राम सहित पक्राउ परिन् । धादिङ कोइली खर्कका कान्छा तामाङ र भीम बहादुर तामाङ लागूऔषध चरेस २५ केजीसहित पक्राउ परे । 

मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्र मात्रै हुन् । लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरू जस्तै अभियुक्तहरूको सूची लामो छ । गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको तथ्यांक  तथ्याङ्क  अनुसार मधेश प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । भने सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । त्यसैगरी कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागूऔषध नियन्त्रण ब्युरोबाट १ केजी कोकिन बरामद भएको छ ।

लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ ।  राष्ट्रिय रुपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको हुन्छ ।

प्रहरी नायब महानिरीक्षक ढकाल भन्नुहुन्छ, ‘लागूऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिहरूले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ । सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो सङ्ख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी जाँच, कानुनी कारवाहीमा कडाइ, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् ।’

परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । नेपाल प्रहरीले लागूऔषध प्रयोग र कारोबार हुने ठाउँको पहिचान गरी त्यस्ता ठाउँमा कारवाही तीव्र पारेको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरीको साथै अन्य सरकारी तथा गैरसरकारी संघ संस्था, सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रिय हुँदै कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा थप सफलता  मिल्ने नेपाल प्रहरीले जनाएको छ ।  

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page