कृष्णसार अनलाइन, गुलरिया । संस्थागत विद्यालयले शैक्षिक सत्र सुरु हुनुभन्दा एक पहिला नै छात्रवृत्ति वितरणको सूचना जारी गर्नुपर्ने माग गरिएको छ । अनेरास्ववियु गुलरिया नगर कमिटीले एक विज्ञप्ति मार्फत सार्वजनिक रुपमा सूचना जारी गरी नियमानुसार छात्रवृत्ति दिनुपर्ने माग गरेका हुन् ।
संस्थागत विद्यालयले विद्यालय सञ्चालनको अनुमति लिदाँ कार्यविधिले तोके अनुसारको छात्रवृत्ति वितरण गर्ने गरी विद्यालय सञ्चालनको अनुमति लिएका हुन्छन् । तर सो नियमको उल्लंघन गरी छात्रवृत्तिमा पहुँचवालाहरूको हालीमुहाली रहेको छ ।
गुलरिया नगरपालिकाले पनि संस्थागत विद्यालयको व्यवस्थित गर्नका लागि ‘संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८०’ निर्माण गरेको छ । तर सो कार्यविधिको कार्यान्वयन पक्ष फितलो हुदाँ विद्यालयले वितरण गर्ने छात्रवृत्तिमा राज्यले तोकेको गरिब, जेहेन्दार, अपाङ्गता भएका बालबालिका , जनजाति, शहीद तथा बेपत्ता परिवारको सदस्यको पहुँच पुग्न सकेको छैन ।
अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा विद्यालयहरूले वितरण गर्ने छात्रवृत्तिमा छोरा/ छोरी र नजिकको विद्यार्थीहरूलाई वितरण गराइरहेको आम अभिभावक गुनासो आएको उल्लेख गरिएको छ ।
हरेक विद्यालयले शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना पहिले २१ दिनेको सूचना सार्वजनिक गरी छात्रवृत्ति वितरणको प्रकृया अगाडी बढाउनु पर्ने नगर अध्यक्ष रिजवाँन खाँले बताउनु भयो । उहाँले कुनै पनि विद्यालयले छात्रवृत्ति वितरण सूचना आह्वान गरेको नपाइएको र आफ्ना नजिकका विद्यार्थीहरूलाई मात्र छात्रवृत्ति वितरण गरिने कार्य बन्द हुनुपर्ने बताउनु भयो ।
अध्यक्ष खाँले गुलरिया नगरपालिकाभित्र रहेका विद्यालयहरूले ३ दिनभित्र छात्रवृत्तिको फारम खुलाउन पहल गरिदिन गुलरिया नगरपालिकाको शिक्षा शाखा प्रमुखसँग माग गर्नु भएको छ ।