प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकाले कार्यालय प्रयोजनका लागि खरिद गरेको दुईवटा मोटरसाइकल चार वर्ष हुँदा पनि पालिकाको नाममा पास हुने सकेको छैन । नेपालगञ्जमा रहेको अनलाइन ओभरसिजबाट खरिद गरेको मोटरसाइकल पालिकाको नाम पास हुन नसकेको हो ।
सरकारी प्रयोजनका लागि भनेर खरिद गरिएको भए पनि रातो नम्बर प्लेट भएकोले सो सवारी साधन दैनिक व्यक्तिगत काममा प्रयोग हुँदै आएका छन् । पालिकाले मोटरसाइकल समयमा पालिकाको नाममा नामसारी नगर्दा कर्मचारीलाई अन्यत्र पनि मोटरसाइकल लिएर जान सजिलो भएको छ । पालिकाबाट दैनिक लू ५८ प ३१६० मोटरसाइकल जिल्ला बाहिर कोहलपुर लगायत अन्यत्र जाने आउने गरेको छ । भने पालिकाको अर्को मोटरसाइकल प्र २००१ प ३१५३ पालिकामा नै भए पनि रातो नम्बर प्लेटमा रहेको छ । दुवै मोटरसाइकल पालिकाले २०७६ फागुन २३ गते छ लाख ३९ हजार आठ सय रुपैयाँमा पालिकाले खरिद गरेको थियो । तर अहिलेसम्म पनि सो मोटरसाइकल अनलाइन ओभरसिसको नाममा नै रहेको छ ।
बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले कार्यालय प्रयोजनका लागि २०७६ को अन्तिम तिर अनलाइन ओभरसिजको गुलरियामा रहेको शाखाबाट खरिद गरेको बताउनु भयो । उहाँले मोटरसाइकल खरिद गरेको समयमा लकडाउन रहेको र त्यसपछि मोटरसाइकल पास गर्ने प्रकृयामा जाँदा यो अनलाइन ओभरसिज सम्पर्क विहीन भएको बताउनु भयो । उहाँले भन्नुभयो –‘हाल सम्म पनि अनलाइन ओभरसिज सम्पर्क मै छैन । ’
पालिकालाई बाइक उपलब्ध गराउने अनलाइन ओभरसिज गुलरिया शाखाको व्यक्तिसँग सम्पर्क गरेर बाइक नामसारीको प्रकृया पुनः अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘पालिकाले खरिद गरेको बाइकको फाइल खोजी गरेर पालिकाको नामसारी गर्न भनेको छु । सो व्यक्तिले बाइकको फाइल खोजेर केही दिनमा बाइक नामसारी गरिदिने प्रतिवद्धता जनाएकोले केही दिनमा नै बाइकहरु पालिकाको नाममा आउने छ । ’
पालिकाले खरिद गरेको मोटरसाइकल नामसारी गर्दा लाग्ने राजस्व सम्बन्धित सप्लायर्सले दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले कृष्णसार अनलाइनलाइ बताउनु भयो । उहाँले पालिकाले बाइक नामसारी गर्नका लागि पत्राचार गरेको र सप्लायर्स लापरबाहीले नामसारी हुन ढिला भएको जानकारी दिनु भयो । पालिकाको नाममा बाइक नामसारी गर्न ढिलो भएको कारण लाग्ने राजस्व सप्लायर्स नै तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो ।