बर्दियामा सरकारले तोके अनुसार संस्थागत विद्यालयले छात्रवृत्ति फारम खोल्दैनन्
संस्थागत विद्यालयले सूचना प्रकाशन नगरेर छात्रवृत्ति दिदै आएका छन्
प्रकाश पौडेल, गुलरिया । संस्थागत विद्यालयहरूले छात्रवृत्तिका लागि शैक्षिक सत्र अगावै सूचना प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि बर्दियाका संस्थागत (निजी) विद्यालयहरूले हाल कुनै सूचना प्रकाशन गरेको छैनन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ र संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९, मा विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्तिको बारेमा स्पष्ट व्यवस्था गरिएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनमा प्रत्येक लगानीमा विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालन गरेका सो विद्यालयको विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि बाह्र कक्षासम्मका विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ । विद्यार्थी सङ्ख्याको पाँच सय सम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, पाँच सयदेखि आठ सय सम्म विद्यार्थी भएका विद्यालयले १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी भएको विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु पर्ने व्यवस्था शिक्षा ऐनमा रहेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा निजी विद्यालयले उपलब्ध गराउने सुविधा ऐनको दफा २७ अनुसार निजी लगानीका विद्यालयले उपलब्ध गराउने सुविधा तथा छात्रवृत्ति प्रदान गर्ने आधार ऐन तथा नियमावलीको अधीनमा रही सम्बन्धित स्थानीय तहले निर्धारण गरे अनुसार हुने व्यवस्था रहेको छ ।
त्यसैगरी संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा संस्थागत विद्यालयहरूले कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघटाई जेहेन्ददार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व, पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ । ४५ प्रतिशत समावेशीलाई १०० प्रतिशत मानी ३३ प्रतिशत महिला, २७ प्रतिशत जनजाति, २२ प्रतिशत मधेशी प्रतिशत, ९ प्रतिशत दलित, ५ प्रतिशत अपाङ्ग तथा ४ प्रतिशत पिछडिएका क्षेत्रलाई समावेश गर्नुपर्ने निर्देशिकाले प्रष्ट व्यवस्था गरेको छ ।
विद्यालयले शैक्षिक सत्रको सुरुमा अभिभावक तथा विद्यार्थीहरूको पहुँच पुग्ने गरी छात्रवृत्तिको सूचनाको विद्यालयले सूचना पार्टीमा टाँस्नुपर्ने हुन्छ । विद्यालयले प्रकाशन गरेको सूचनाको आधारमा निवेदन दिन विद्यार्थीहरूको परीक्षा लगायतका अन्य प्रकृया पूरा गरेका विद्यार्थीहरू मध्येबाट छनौट भएका विद्यार्थीलाई छात्रवृत्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर संस्थागत विद्यालयले कानुन विपरित छात्रवृत्ति फारम नखोलेर विद्यालय सञ्चालकका छोराछोरी, आफन्तका छोराछोरी, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीका छोराछोरी छात्रवृत्ति दिने गरेका छन् । त्यसैगरी पहुँचवालाको छोराछोरी र एउटै घरको तीन जना विद्यार्थी भएमा तल्लो कक्षाको विद्यार्थीलाई छुट दिने गरेको पाइएको छ । भने पछिल्लो समयमा जनप्रतिनिधि र नेता र कर्मचारीको छोराछोरीलाई आरक्षण छात्रवृत्तिमा निःशुल्क पढाउने गरेको छन् । कानुनले व्यवस्था गरेका लक्षित वर्गका बालबालिकाले पाउनुपर्ने सुविधा पहुँचवालाहरूको पोल्टामा पुगेपछि लक्षित वर्गका बालबालिकाहरू मर्कामा परेका छन् ।
सूचनामा अभिभावक र विद्यार्थीको पहुँच नै पुग्दैन ।
विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन नगर्दा अभिभावक तथा विद्यार्थीहरू सूचनाको पहुँच बञ्चित हुनु परेको छ । विद्यालयले समयमा छात्रवृत्तिको सूचना प्रकाशन नगर्दा अभिभावक र विद्यार्थीहरू सूचनाको अधिकारबाट बञ्चित हुनुपरेको हो ।
कुनै पनि नागरिक सूचनाको अधिकारबाट बञ्चित हुन नपरोस् नभनेर संविधानमा नै सूचनाको हकको ग्यारेन्टी गरिएको छ । तर संस्थागत विद्यालयले विद्यार्थीले नियम विपरित छात्रवृत्ति वितरण गर्न छात्रवृत्ति सूचना प्रकाशन गदैनन् । विद्यालयले आफैले किर्ते तथा मनोमानी ढंगले छात्रवृत्ति वितरण गर्दै आएका छन् । र अभिभावक र विद्यार्थीलाई सूचनाबाट बञ्चित गर्दै आएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोध पत्र
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना ÷ छात्रवृत्ति छनौट वितरण गरी सार्वजनिक गर्ने र गराउने व्यवस्थापन गराउन हुनमा लागि पालिकाहरूलाई अनुरोध गरेको छ । विद्यालयमा विद्यार्थी भर्ना भएपश्चात मात्र छात्रवृत्तिको कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीहरू भर्ना शुल्क तिर्न नसकी भर्ना नहुने अवस्था सिर्जना हुने र छात्रवृत्तिको पहुँच भन्दा बाहिर हुन सक्ने स्तिथी देखापर्ने स्तिथी देखा पर्ने सक्ने भएकोले विद्यार्थी भर्नाको समयमा छात्रवृतिको संख्या छुट्याई छात्रवृत्ति प्राप्त गर्ने बालबालिकालाई निःशुल्क भर्ना हुने अवस्था मिलाउन हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०८० चैत्र २२ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकालाई अनुरोध पत्र पठाएको छ ।
कुन कुन पालिकामा सूचना प्रकाशन भयो ।
ठाकुरबाबा नगरपालिकाले छात्रवृत्तिको सूचना प्रकाशन गर्न संस्थागत विद्यालयलाई पत्राचार गरेको छ ।
पालिकाले चालु शैक्षिक सत्र भित्र प्रदान गर्नपर्ने छात्रवृत्तिका लागि विद्यालयमा सूचना प्रकाशन गर्ने र प्राप्त भएका निवेदनहरू छात्रवृत्ति व्यवस्थापन समिति समक्ष शिक्षा, युवा तथा खेलकुद शाखा मार्फत पालिका बैशाख मसान्तसम्म पेश गर्न विद्यालयलाई पत्राचार गरिएको प्रमुख प्रसाशकीय अधिकृत रामहरि रिजालले बताउनु भयो । उहाँले निर्धारित समयमा आवेदनहरू पालिका प्राप्त नभएमा नियमानुसार कारवाही हुने जानकारी दिनुभयो ।
गुलरिया नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत सतिश यादवले नगरपालिका रहेका बर्षा इ.बो स्कुल बाहेक अन्य विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको बारेमा शाखामा आधिकारिक जानकारी नआएको बताउनु भयो । उहाँले पालिकाले विद्यालयलाई पत्राचार नगरेको जानकारी दिनुभयो । भने मधुवन नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत नारायण प्रसाद खनालले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको शाखामा कुनै आधिकारिक जानकारी नआएको र शाखाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो । त्यसैगरी राजापुर नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत दलबहादुर चौधरीले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको शाखामा कुनै आधिकारिक जानकारी नआएको र शाखाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो ।
बारबर्दिया नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत टीकानाथ गोसाइँले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको शाखामा कुनै आधिकारिक जानकारी नआएको र शाखाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो । भने बासगढी नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत छत्र बहादुर शाहीले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको शाखामा कुनै आधिकारिक जानकारी नआएको र शाखाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो । त्यसैगरी गेरुवा गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत नवराज अधिकारीले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको शाखामा कुनै आधिकारिक जानकारी नआएको र शाखाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो ।
बढैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन गरेको पालिकालाई कुनै आधिकारिक जानकारी नआएको र पालिकाले पनि कुनै पत्राचार नगरेको जानकारी दिनुभयो ।
बर्दियामा रहेका ९७ संस्थागत विद्यालयले छात्रवृत्तिको सूचना प्रकाशन नगरेर आफ्ना अनुकुलका व्यक्तिहरूलाई छात्रवृत्ति दिदै आएका छन्