बर्दिया । कोभिड १९ प्रभावितहरुको पुर्नस्थापनाका लागि दलित महिला उत्थान संघ बर्दियाले नयाँ परियोजना लागु गरेको छ । लुथर्न वल्र्डको आर्थिक सहयोगमा कोभिड प्रभावित भएका विपन्न परिवारको पुर्नउत्थानका लागि कार्यक्रम ल्याईएको हो ।
भारतसँग सीमा जोडिएका बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकामा रहेका कोभिड १९ प्रभावितहरुको पुर्नस्थापनाका लागि कार्यक्रम गरीने दलित महिला उत्थान संघकी कार्यक्रम संयोजक विष्णु नेपालीले बताउनु भयो । कोभिड १९ का कारण विदेशमा र स्वदेशमा रोजगारी गुमाएर घर फर्किएका व्यक्तीहरुलाई आर्थिक आयआर्जनका लागि व्यवसायिक सहयोग र कृषकहरुका लागि बीउबिजनदेखि प्राविधिक सहयोग गर्ने परियोजनाको लक्ष्य रहेको नेपालीले बताउनु भयो । उहाँले कोरोनाका कारण विपन्न व्यक्तिहरु आर्थिक मारमा परेको भन्दै छिटो आर्जन हुने व्यवसायमा जोडिने गरी काम गर्ने बताउनु भयो ।
त्यसैगरी कोरोनाको महामारी अझै पनि नटरेकाले पालिकाका स्वास्थ्य केन्द्रहरुलाई अझ शशक्त बनाउने, स्वास्थ्य सामाग्री सहयोग गर्ने, स्वास्थ्यकर्मीहरुलाई तालिम दिने जस्ता क्रियाकलाप गर्ने योजना रहेको छ ।
उक्त परियोजना ११ महिनासम्म लागु हुने छ । परियोजनाको बजेट १ लाख ७५ हजार अमेरीकन डलर रहेकोछ । परियोजनाको परिचय कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपमेयर शुसिला गिरीले परियोजनाको सफलताको शुभकामना दिनुभयो । परियोजनाले छोटो समयमा पनि महत्वपुर्ण काम गर्ने बताउँदै नगरपालिका,वडा र शाखाहरुसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो । स्वास्थ्यकर्मीहरुलाई सामाग्री हस्तान्तरण गर्दा काम लाग्ने र उपयोगी सामाग्री प्रदान गर्नुपर्ने बताउनु भयो ।