प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेका अधिकांश संस्थागत ( निजी ) विद्यालयले विद्यालयबाट शैक्षिक सामाग्री, विद्यालय पोशाक, टाइबेल्ट लगायतका सामाग्री बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
सरकारले पुस्तक कापी लगायतका शैक्षिक सामग्रीहरू विद्यालयले बिक्री वितरण गर्न नपाउने नियम बनाएयता पनि विद्यालयहरूले आफन्तको नाममा स्टेसनरी सञ्चालन गरी शैक्षिक सामाग्रीहरू बिक्री वितरण गर्दै आएका छन् । विद्यालयले मोटो रकम कमिसन खाने चक्करमा अभिभावकलाई महँगो मूल्यमा पुस्तक लगायत शैक्षिक सामाग्री बिक्री वितरण गरेको पाइन्छ । विनियममा उद्देश्य नै नतोकिएका आफन्तका सहकारीलाई समेत पुस्तक बिक्रीवितरण गर्न लगाइएको फेला परेको छ ।
विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेसनरी खरीद बिक्री गर्न नपाउने प्रष्ट व्यवस्था संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा रहेको छ । तर विद्यालयले आफ्नै स्टेसनरी दर्ता गरी स्टेसनरी खरिद बिक्री गरिरहेका छन् । अभिभावकहरू प्रत्यक्ष रुपमा ठगिँदै आएपनि नियमनकारी निकायहरू मौन रहेका छन् भने स्टेसनरी व्यवसायीहरू टुलु टुलु हेरेर बस्ने गरेका छन् ।
संस्थागत विद्यालयहरूले कमिसनको चक्करमा हरेक वर्ष पुस्तकका पब्लिकेसन समेत फेर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार विद्यालयको र पब्लिकेसनको बीच कमिसन लागि बार्गेनिङ हुन्छ । जुन पब्लिकेसनले राम्रो छुट दिन्छ त्यही पुस्तक निजी विद्यालयमा लागू गरिन्छ । विद्यालय र विद्यालयले चलाएका स्टेसनरीले भारी छुटमा ल्याएका पुस्तकमा भने अभिभावकलाई कत्ति पनि छुट दिइन्न । पुस्तकसँगै कापी कलम लगायतका सामग्रीहरू पनि अरु स्टेसनरी मा भन्दा महँगो मूल्यमा अभिभावकहरू किन्न बाध्य छन् ।
पुस्तक व्यवसायी कृष्ण ज्ञवालीले विद्यालयले दर्ता नगरेर र आफ्ना परिवारका निकट व्यक्तिको नाममा पुस्तक पसल दर्ता गरेर विद्यालय हाताभित्रबाट पुस्तक बिक्री वितरण गर्ने गरेको बताउनु भयो । विद्यालयबाट पुस्तक खरिद गर्दा कुनै छुट नदिने भएकोले अभिभावकहरू मर्कामा पर्ने गरेको व्यवसायी ज्ञवालीले बताउनु भयो ।बर्दियामा रहेका निजी विद्यालयले केवल नाफा कमाउने उद्देश्यले विद्यार्थी भर्नाको समयमा मात्र किताब कापी बेच्ने गरेको जानकारी दिनुभयो ।
विषय पिच्छे फरक पब्लिकेसन
संस्थागत विद्यालयमा विषय पिच्छे फरक फरक पब्लिकेसनका पुस्तक पढाई हुने गरेको छ । एउटै कक्षामा पनि नाफा कमाउने उद्देश्यले फरक फरक पब्लिकेसनका पुस्तक पढाई हुने गरेको हो ।
विद्यालयले विद्यार्थीहरूले अन्य स्थानबाट खरिद गर्न नपाउन भनेर विद्यालय पिच्छे फरक फरक पब्लिकेसनका पुस्तक खरिद गर्न लगाउने गरेका छन् । पालिकामा रहेको शिक्षा शाखाले विद्यालयमा पढाई हुने पुस्तक र पोशाकमा एकरूपता ल्याउन नसक्दा पनि अभिभावकले यस्तो समस्या भोग्नु परेको छ ।
निजी विद्यालयले काम पढाउने मात्र नभएर कापीकिताब, विद्यालय पोशाक बेच्ने समेत भएको एक अभिभावकले बताउनु भयो । स्कुलमा पढाई हुने पुस्तक, कपडा, टाइबेल्ट अन्यत्र नपाउने भएकोले पनि विद्यालयबाट किन्नुपर्ने बाध्यता रहेको अभिभावकहरू बताउँछन् । विद्यालय अनुगमन गर्नुपर्ने निकाय मौन बसेको छ , विद्यालयमा हुने वेथिती थाहा छ, तर पनि अनुगमन हुँदैन त्यही भएर पनि संस्थागत विद्यालयको मनपरी बढेको नाम नखुलाउने शर्तमा एक अभिभावकले बताए ।
संस्थागत विद्यालयको अनुगमन हुन्छ समन्वय इकाई प्रमुख – खत्री
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले विद्यालय नाफा मूलक संस्था नभई सेवा मूलक संस्था भएको बताउनु भयो । ‘शिक्षा नियमावलीले नियम ३७ मा कुनै पनि संस्थागत वा सामुदायिक विद्यालय हाताभित्रबाट कुनै पनि किसिमका शैक्षिक सामग्री बेचविखन गर्न नपाउने गरिएको छ ।’ उहाँले भन्नुभयो – ‘शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८० मा परिपत्र गरे अनुगमन गरी त्यस्तो विद्यालय हाताभित्र कसैले शैक्षिक सामग्री वितरण गरेको भए, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन गर्ने प्रतिवदेन तयार गरी पठाउने भनेको छ ।’
बर्दियामा सरुवा भएर आएको एक हप्ता मात्र भएकोले यस बारेमा बुझी नसकेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ केही दिनभित्र संस्थागत विद्यालयहरूको अनुगमन गरी त्यस बारेमा भए गरेको के छ, शिक्षा ऐन र शिक्षा नियमावली नियम विपरित भए गरेको पाइएमा कानुनी प्रकृया अगाडि बढाउँछौँ । ’
यसका लागि स्थानीय तहका शिक्षा शाखासँग पनि सहकार्य गरेर अगाडि बढ्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँले विद्यालय शिक्षा ऐन २०२८ अन्तर्गत नियम विपरित सञ्चालन भएका विद्यालयका अनुमति वा स्वीकृति रद्द गर्ने समेत व्यवस्था रहेको जानकारी दिनुभयो । बदिया जिल्लामा ९७ संस्थागत निजी विद्यालय रहेको छन् ।