राजापुर । राजापुर नगरपालिकाले देशकै लामो पुल कर्णाली नदिमा रहेको कोठियाघाट पुलमा नेपालको राष्ट्रिय झण्डा राखेर १७ औँ गणतन्त्र दिवस मनाएको छ । देश कै लामो पुल भएपनि हाल सम्म खासै महत्वको साथ नहेरिएको हुनाले पनि पुलमा राष्ट्रिय झन्डोत्तोलन गरेर गणतन्त्र दिवस मनाइएको हो ।
हेर्नुहाेस् भिडियाे…
राजापुर नगरपालिकाले पुलमा चार ओटा राष्ट्रिय झण्डा राखेको छ । झन्डोत्तोलन पछि एक अनौपचारिक कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका मेयर दिपेश थारूले नेपाल सरकारको लगानीमा, नेपाली निर्माणकर्ताले तोकिएको समय भन्दा पहिले नै बनाएको महत्वपूर्ण पुल विभिन्न दृष्टिकोणले ओझेलमा परेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा पुलमा बत्ती जोड्नुका साथै विभिन्न सजावट गराई पर्यटकको लागि आकर्षित गर्ने खालको बनाउने बताउनु भयो ।
नगरपालिकाले स्थानीय पर्यटकीय क्षेत्रको पहिचान गरी त्यसको विकास गर्नुका साथै प्रचार प्रसारका लागि गणतन्त्र दिवसको अवसरमा रचनात्मक कार्य गरेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनु भयो ।
नगरपालिकाले राजापुर बजारमा नेपालको नक्साको चित्र बनाई मैन बत्ती समेत बालेर गणतन्त्र दिवस मनाएको थियो । राजापुर नगरपालिका विगत १० बर्षे द्वन्द्वकालमा घाईते भएका मृत्यु भएका र बेपत्ताका परिवारलाई जिविकोपार्जन र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।