बर्दिया । बर्दियामा सामुदायिक वनका उपभोक्ताहरूले वन्यजन्तुबाट सँधै पीडित हुने क्षेत्रका स्थानीयवासीहरूले आरक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घको २९ औँ स्थापना दिवसका अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा उपभोक्ताहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा विगतमा उपभोक्ताहरूले वन जोगाएकै कारणले बर्दिया जिल्लामा वन्यजन्तुको वृद्धि भएको दावी गर्दै अहिले तिनै वन्यजन्तुबाट उपभोक्ताहरू पीडित भइरहेको बताएका छन् । मानव वन्यजन्तु द्वन्द्व भइरहने क्षेत्र खाता जैविक मार्ग, मध्यवर्ती क्षेत्रलाई पिछडिएको क्षेत्र जस्तै आरक्षण क्षेत्र घोषणा गर्नु पर्ने सामुदायिक वन उपभोक्ता महासंघ मधुवनका अध्यक्ष कुलमान बुढाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपाध्यक्ष सावित्रा गौतमले उपभोक्ताको हक हितको लागि सामुदायिक वन उपभोक्ता महासंघ सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता वन महासङ्घका उपाध्यक्ष महम्मद कर खाँले उपभोक्ताले वन जोगाएर हरियाली बनाएपनि राज्यको नीतिका कारण उपभोक्ताको मनमा हरियाली नछोएको बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशकी सदस्य कमला ज्ञवालीले सामुदायिक वनलाई सरकारले दिएको अधिकार दिन पनि स्थानीय वन डिभिजन कार्यालयले आनाकानी गरेको बताउनु भयो । कतिपय सामुदायिक वनलाई नियमानुसार कटान आदेश नदिएको र कटान आदेश दिएकालाई वितरण आदेश नदिएको बताइन् । यसको लागि फेरी पनि उपभोक्ताहरू आन्दोलनमा उत्रिनुपर्ने बताइन् ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविन विडारीले सामुदायिक वनको संरक्षण र उपभोक्ताको हक हितको सवालमा सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । संघ तथा प्रदेश सरकार सँग केही नीतिगत सवालहरुमा महासंघको विमत्ती रहेपनि उपभोक्ताहरू सँग सँधै सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता नगरमहासंघका प्रमुख तथा प्रतिनीधिहरुले आ– आफ्नो पालिकामा भएका सामुदायिक वनका समस्याहरूको बारेमा बताएका थिए ।
त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाले स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गरेका तिन ओटा नगरमहासंघलाई सम्मान गरेको छ । सम्मान हुने नगरमहासंघमा राजापुर, बाँसगढी र मधुवन रहेका छन् ।