अमरराज लम्साल, गुलरिया । मधुवन नगरपालिकामा पालिका स्तरीय एकीकृत पाठ्यक्रम कार्यशाला गोष्ठी गरिएको छ । पालिका रहेका शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले पाठ्यक्रम कार्यशाला गोष्ठी गरिएको हो ।
पालिका रहेका विद्यालय शिक्षकहरू क्षमता विकास तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यशाला गोष्ठी गरिएको हो । बाँके युनेस्को क्लब आयोजना तथा प्लान इनटरनेशनल नेपालको सहयोगमा गोष्ठी गरिएको हो ।
मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरीले शिक्षकहरू भनेको समाजका आदर्श भएकोले शिक्षण पेशा अति महत्वपूर्ण हुनुको साथै सम्मानित पनि रहेको बताउनु भयो । उहाँले शिक्षकले पढाएको कुरा नै सही हुन्छ भन्ने मान्यता साना बालबालिकामा रहेको पाइन्छ , त्यसकारण शिक्षकले दिने ज्ञान सही र सत्य हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू अति जिज्ञासु स्वभावका हुन्छन् । मैले सोधेको प्रश्नको उत्तर मेरो गुरुसँग हुन्छ मान्ने मान्यता राख्छन् । त्यसकारण शिक्षक पनि प्रत्येक दिन विद्यार्थीहरूको जिज्ञासा समाधान गर्न सक्ने गरी तयार भएर विद्यालय जानुपर्छ । ’
मधुवन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण खनालले २०७६ सालमा एकीकृत पाठ्यक्रम लागू भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ एकीकृत पाठ्यक्रम लागू भएपछि एक पटक तालिमको आयोजना गरेको थियौं । तर तालिम गर्ने योजना भए पनि बजेट अभावले सो तालिम गर्न सकेका थिएनौ । यस पटक बाँके युनेस्को क्लब आयोजना तथा प्लान इनटरनेशनल नेपाल सहयोगमा तीन दिने कार्यशाला गरिएको छ । ’ शिक्षकहरूले प्रविधिको प्रयोग गर्न अति आवश्यक रहेको छ शाखा प्रमुख खनालले बताउनु भयो ।
बाँके युनेस्को कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले विद्यालय भित्र गरिने शिक्षण सिकाइलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न शिक्षकहरू भन्दा बढी विद्यार्थीहरूलाई सक्रिय बनाउनु पर्ने बताउनु भयो । उहाँले विज्ञान र प्रविधि विकास भएसँगै शिक्षण सिकाइका नयाँ नयाँ शैलीको विकास भएको छ , सो अनुसार शिक्षण हुन नसक्दा पनि शिक्षण सिकाइ खासै प्रभावकारी हुन सकेको बताउनु भयो ।
शिक्षकले कक्षा कोठामा प्रवेश गर्नु अधि विद्यार्थीका अरु दिन भन्दा फरक शैलीको प्रयोग सके मात्र पनि कक्षा कोठाभित्र हुने सिकाइ प्रभावकारी हुने लामिछाने बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘ अभिभावक पनि बेला बेला विद्यालय जाने विद्यार्थीहरूको सिकाइ अवस्था कस्तो छ बुभ्न उनीहरु विद्यालयमा के गरी रहेका छन् हेर्न जरुरी छ । तर कयौं अभिभावक विद्यालयको आँगनमा समेत गएको पाइदैन् । अभिभावकहरू गएर पनि विद्यालयमा गएर चासो दिन जरुरी रहेका छ । ’
तालिममा सहभागी पूर्णपुर माध्यमिक विद्यालयका शिक्षक भुवनेश्वर डाँगीले आफूले पहिलो पटक तालिम लिएको र तालिम उपलब्धि मूलक भएको बताउनु भयो । उहाँले तालिमले शिक्षण सिकाइमा सकारात्मक प्रभाव पार्ने भएकोले विद्यार्थीको पठनपाठनमा पनि सुधार गर्न नयाँ विधिको प्रयोग गर्ने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिएर शिक्षणको क्षमतावृद्धि गर्दै जानुपर्नेमा जोडदिनु भयो ।
त्यसैगरी तालिममा सहभागी शिक्षिका सुष्मा केसीले कक्षा कोठाभित्र गरिने शिक्षण सिकाइका लागि नयाँ शैली, सीप, तौर तरिकाको विकास भइरहेको छ , कार्यशाला गोष्ठीले नयाँ आइडिया प्राप्त भएको बताउनु भयो । उहाँले विद्यार्थीहरूलाई नयाँ विधि सीप, र प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गर्न सकेमा विद्यार्थीहरूले धेरै कुरा सिक्न सक्छन् , कार्यशाला सिकेको कुरालाई कक्षा कोठामा प्रयोग गर्ने बताउनु भयो ।
सशक्त बालिका परियोजना अन्तर्गत मधुवन नगरपालिका तीन दिने अभिमुखीकरण कार्यक्रम भएको थियो । तालिमका ९५ जना शिक्षकको सहभागिता रहेको थियो । भने प्रशिक्षक शकर प्रसाद आचार्यले अभिमुखीकरण तालिम दिनुभएको थियो ।