यज्ञप्रसाद सापकोटा,बर्दिया । बर्दियामा सात ओटा विद्यालयको एसइइ नतिजा शुन्य आएको छ । सात ओटा विद्यालयबाट सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
एक जना पनि विद्यार्थी उत्तीर्ण नहुने विद्यालयहरू बाँसगढी नगरपालिकाको जनता मावि बेलवा, लक्ष्मी मावि चेपाङ, जनता मावि लठुवा, पृथ्वी मावि लखना गरी चार ओटा विद्यालय रहेका छन् । त्यसैगरी बढैयाताल गाउँपालिकाको जगदम्बिका मावि शान्तिपुर, बारबर्दिया नगरपालिकाको अमर शहीद दशरथ चन्द मावि खैरेनी, गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश मावि मनाउका विद्यार्थीले उत्तीर्ण गर्न सकेनन् ।
बर्दियामा एक जना मात्र उतिर्ण भएका विद्यालयहरू ८ ओटा रहेका छन् । बढैयाताल गाउँपालिकामा नेपाल राष्ट्रिय मावि गोव्रेपुर, अमरज्योति मा वि सितापुर र सरस्वती मावि शिवशक्तीपुर रहेका छन् । त्यसैगरी गुलरिया नगरपालिकाको जानकी मावि सिरकोहिया र नेरामावि प्रयागपुरले एक जना मात्र विद्यार्थी पास गरेका छन् । बारबर्दिया नगरपालिकामा सिम्हा मावि बेलभार र नेरामावि बेलवाज्जाले एक जना मात्र विद्यार्थी पास गरेका छन् । बाँसगढी नगरपालिकाको लालिगुराँस मावि माछागढको एक जना विद्यार्थी मात्र पास भएका छन् ।
बर्दिया जिल्लामा छ हजार पाँच सय ९५ विद्यार्थी एसइइ परीक्षामा सहभागी भएकोमा एक हजार पाँच सय २५ जना मात्र उत्तीर्ण भएका छन् । जुन कुल सहभागी विद्यार्थी सङ्ख्याको २३.१२ प्रतिशत हो । पालिकागत नतिजा हेर्ने हो भने बर्दिया जिल्लाका आठ ओटा पालिका मध्ये ठाकुरबाबा नगरपालिका सबै भन्दा धेरै विद्यार्थी उतिर्ण गर्ने नगरपालिका भएको छ । यस नगरपालिकाले परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ४०.८७ प्रतिशत उतिर्ण भएका छन् । त्यसैगरी मधुवन नगरपालिकामा ३०.५७, बढैयाताल गाउँपालिकामा २४.७४ , गुलरिया नगरपालिका २४.५९, बारबर्दिया नगरपालिका १९.४३, राजापुर नगरपालिका १९.१६, बाँसगढी नगरपालिका १५.२४ र गेरुवा गाउँपालिका ९.६३ प्रतिशत विद्यार्थी उतिर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
एसइइको रिजल्ट कमजोर आएपछि जनप्रतिनिधि, शिक्षा प्रेमी, शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बनेका छन् । कोरोनाको कहर पछि शिक्षाको गुणस्तर खस्कँदै गएको छ । लेटर ग्रेडिङ सिस्टम आएपछि ननग्रेडिङ्गको व्यवस्था थिएन । यस वर्ष देखि ननग्रेडिङ्गको व्यवस्था भएपछि विद्यार्थी धेरै अनुतिर्ण भएका छन् ।