तोकेका भन्दा बढी भाडा लिने बसलाई कारवाही
बर्दियामा ८३ हजार एक सय ७९ सवारी साधन कारवाही
प्रकाश पौडेल, गुलरिया । तोकेको भन्दा बढी भाडा लिने सार्वजनिक यातायातको साधन बसलाई जिल्ला ट्राफिक कार्यालय बर्दियाले कारवाही गरेको छ । भे १ ख ४०६३ नम्बरको बसलाई जिल्ला ट्राफिक कार्यालय बर्दियाले कारवाही गरेको हो ।
बर्दियाबाट चल्ने सार्वजनिक यातायातका लामा तथा छोटो दुरीको सवारी साधनले मन गर्दै आएका छन् । एउटै नम्बरको सिटको दुई जनालाई टिकट दिने, ज्येष्ठ नागरिक, र महिलालाई आरक्षण सिट नदिएर आफ्ना नजिककालाई सो सिट दिने ,क्षमता भन्दा बढी यात्रु बोक्ने, तीब गतिमा सवारी साधन चलाउने, यात्रुलाई अभद्र व्यवहार गराउने, जस्ता समस्या यात्रुले भोग्दै आएको छन् ।
सार्वजनिक यातायातमा यात्रा गर्दा म ठगिएकी भन्दै गुलरिया नगरपालिका –७ का दिपकलाल श्रेष्ठले सामाजिक सञ्जाल ( फेसबुक)मा लेख्नु भएको थियो, ‘ नेपालगन्ज –गुलरिया भाडा दर १२० रूप हो तर भे१ ख ४०६३ नम्बरको रुद्राक्ष बसले नेपालगन्ज देखि गुलरिया सम्मको भाडा आफू खुसी कायम गरि गत शुक्रबार गुलरियाबाट नेपालगन्ज जाने क्रममा १५० रुपैयाँ म बाट बसवालाले लिनुभयो । मैलै नेपालगन्ज देखि गुलरिया १२० भन्दा पनि यो हाम्रो रेट हो भने, म लगायत सबैले १५० रुपैयाँ दिन बाध्य भयो ।’
उहाँले लिएको भाडा ठिक भए ठिक छ , यदि बढि पैसा लिएको हो भने समिति र रुद्राक्ष बसलाई कार्यवाही गर्नुपर्ने हुनुपर्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र नियमनकारी निकायले कारवाही गरेको हेर्न मन भएको श्रेष्ठले बताउनु भएको छ ।
तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही
बसले तोकिएको भाडा दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो प्राप्त भए पश्चात सोधपुछ गर्दा बढी भाडा लिएको पाईएकोले बसलाई नियमानुसार कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
ट्राफिक कार्यालयका बर्दियाका प्रहरी नायब निरीक्षक भरत सिंह बिष्टले सार्वजनिक यातायातको सवारी साधनले सरकारले निर्धारण गरे अनुसारको भाडा मात्र लिन पाउने बताउनु भयो । उहाँले अतिरिक्त भाडा लिने सवारी साधनलाई ट्राफिक नियम अनुसार एक हजार जरिवाना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ट्राफिक प्रहरीलाई एक हजार पाँच सय रुपैयाँसम्म कारवाही गर्ने अधिकार हुन्छ । एक हजार पाँच सय भन्दा बढी जरिवाना गर्नु परे यातायात व्यवस्था कार्यालय मार्फत कारवाही गर्नुपर्ने हुन्छ । ’
सार्वजनिक यातायातको गाडीमा चढाउन इन्कार गरेमा र यात्रुलाई गन्तव्यसम्म नपुर्याएका पनि कारवाही हुने प्रहरी नायक निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
बर्दियामा ८३ हजार एक सय ७९ सवारी साधन कारवाही
बर्दियामा पाँच वर्षमा पाँच वर्षका ८३ हजार एक सय ७९ सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
ट्राफिक कार्यालय बर्दियाका अनुसार चालु आर्थिक वर्ष २०८० /०८१ को जेठसम्ममा १७ हजार एक सय ७२ सवारी साधन कारवाहीका परेको छन् । गत आर्थिक वर्ष २०७९ /०८० मा १८ हजार ९६ सवारी साधन कारवाहीमा परेका छन् आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ७ सय ३८ सवारी साधन कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा १७ हजार ९ सय ३९ सवारी साधनलाई कारवाही गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार २ सय ३५ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले बताउनु भयो ।
हवल्दार डाँगीले जिल्लामा अनुमति पत्र बिना सवारी साधन चलाउने, कागजपत्र साथमा नराख्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, गाडीको क्षमता भन्दा बढी यात्रु बोक्ने ,मालवाहक गाडीमा क्षमता भन्दा बढि सामान बोक्ने, सवारी साधनको अवस्था ठीक नभएमा, ट्राफिक नियम उल्लघंन गरेका सवारीलाई कारवाही गरेको बताउनु भयो ।
सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुलाई अनावश्यक दुःख दिएमा प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा अन्य सरोकारवाला निकायमा उजुरी दिन सक्ने व्यवस्था रहेको छ ।