

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका खेलाडी र खेलप्रेमीका कारण नेपालले यसवर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाएकोमा नेपाल क्रिकेट संघ (क्यान)लगायत सबै खेलसँग जोडिएकाहरूलाई बधाई दिनुभएको हो ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘शुभ बिहानी ! हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई साथ र सपोर्ट गरिरहेका छौँ । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन् । यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । बधाई नेपाली !!’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको हो । २१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले अवार्ड जितेको क्यानले जनाएको छ ।
क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो ।
आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ ।