
बुटवल । एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ । साेमबार दिउँसो ५६ सांसदहरूकाे हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश भएको थियाे । आचार्यले एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेकाे पत्र बुझाउनुभएकाे थियाे । यस अघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए । मुख्यमन्त्रीको सपथ भने भोली मात्र हुने बताइएको छ ।
एमालेकांग्रेसले बुधबार मुख्यमन्त्रीसहित सबै मन्त्रीकाे शपथकाे समय मिलाउन प्रदेश प्रमुखलाई अनुराेध गरिसकेका छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीले सबै मन्त्रीकाे शपथ एकैपटक मिलाउन अनुराेध गरेकाे बताउनुभयाे । नवनियुक्त मुख्यमन्त्री आचार्यले एकैपटक सबै मन्त्रीसहित मुख्यमन्त्रीकाे शपथ बुधबार हुने जनाउनुभयाे ।


