यज्ञप्रसाद सापकोटा,बर्दिया । बर्दियामा प्रहरीले ठुलो परिणाममा पुरातात्विक मूर्ति र धातुका सामानहरू बरामद गरेको छ । बुधबार बिहान ३ बजे तिर बाँसगढी नगरपालिका –५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ गइरहेको भे १ च १६९७ नं को बलेरो गाडीबाट प्रहरीले सो समान बरामद गरेको हो ।
प्रहरीले १० थान धातुको मूर्ति , धातुका फुलदानी, करुवा, कलश, प्याला ,टुकी , घण्ट, खड्करो, कसौडी लगाएतका ७१ थान भाँडा बरामद गरेको छ । त्यसैगरी विभिन्न किसिमका अटोमोबाइल्स (गाडीका पाटपुर्जा)का सामानहरू समेत बरामद गरिएको छ । सामान ओसार पसार गर्नका लागि प्रयोग गरिएको बलेरो जिप सँगै जिपका चालक गुलरिया नगरपालिका –११ बस्ने २१ वर्षिय संजय राढ र सहयोगी भारतको बहराइच जिल्ला लौकाही बस्ने ४८ वर्षिय जब्बर खाँलाई नियन्त्रणमा लिइएको छ । सामान गाडी र मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो ।
हेर्नुहाेस् भिडियाे…
https://www.youtube.com/watch?v=H9qJAlk0r8Q
पक्राउ परेका धातुका सामानहरु कतिपय प्रयोग भईरहेका पुराना रहेका छन् भने कतिपय प्रयोग नभईसकेका नयाँ रहेका छन् । बाहिरबाट थाहा नहुने गरी सुरक्षित प्याकिङ्ग गरिएका समानहरु खोलेर हेर्दा धातुका बहुमुल्य रहेको पाईएको प्रहरीले जनाएको छ । विशेषगरी पुरातात्विक महत्वको जस्तो देखिने देवी भगवती, नरसिंह देव, बाहुपंखी गाई , सिंह, नन्दी र भ्यागुताको मुर्ती एक एक थान फेला परेका छन् भने नन्दी जस्तो देखिने मुर्ती ४ थान रहेका छन् । प्राय मन्दिरमा प्रयोग हुने जस्ता फुलदानी, करुवा कलश, पानस घण्ट कसौठी जस्ता बस्तुहरु फेला परेको प्रहरी जनाएको छ ।
पक्राउ परेको अटोमोबाइल्सका सामानहरु भारतिय कम्पनीहरुको उत्पादन भएको पाईएको छ । पक्राउ परेका सामानमा पलामको पट्टा, माविल फिल्टर, आयल फिल्टर बम्फर, पट्टा सकर ब्रस, स्पीडो गीयर, बियरिङ्ग कलच लगाएतका १९ प्रकारका सामान रहेका छन् ।
रातिको समयमा शंकास्पद तरिकाले गाडीमा राखी लैजाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा १४ ओटा पोकामा प्याकिङ्ग गरेको अवस्थामा पश्चिमबाट पूर्व लैजाँदै गर्दा फेला पारेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनु भयो । उहाँले पक्राउ परेकालाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्र्तगतको कसुरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढेका उहाँले बताउनु भयो । पक्राउ परेका धातुका सामानहरू काठमाडौँमा रहेको पुरातत्व विभागमा चेकजाँचका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनु भयो । चेकजाँच पश्चात पक्राउ परेकालाई सोही अनुसार कानुनी कारवाहीमा लैजाने प्रहरी नायब उपरीक्षक अर्यालले बताउनु भयो ।