शहीद तथा बेपत्ता परिवारले पाउने सेवासुविधा आफैँ बुझ्दै राजापुर नगरपालिकाकी उपप्रमुख
नियम विपरित उपप्रमुख वा अन्य जोसुकै राहत बुझेको भएपनि राहत फिर्ता हुन्छ :नगरप्रमुख चौधरी
प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले शहीद तथा बेपत्ता परिवारले पाउने सेवा सुविधा आफैले बुझ्दै आउनु भएको छ । पालिकाले शहीद तथा बेपत्ता परिवारलाई प्रदान गर्दै आएको सेवा सुविधा उपप्रमुखले आमा जनककुमारी चौधरी मार्फत आफैले बुझ्दै आउनु भएको हो ।
राजापुर नगरपालिकाले शहीद तथा बेपत्ता परिवारलाई जिविकोपार्जनका लागि एक लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । पालिकाले शहीद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने र उनीहरूको स्वास्थ्य बिमा गर्ने जस्ता काम गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिकाले १५ जनालाई बाख्रा र २० जनालाई भैँसी वितरण गरेको थियो । जसमध्ये उपप्रमुखले आमा जनककुमारी मार्फत एक लाख बराबरको भैँसी पाउनु भएको थियो पालिकाका नगरप्रमुख दिपेश थारूले उपप्रमुखकी आमालाई भैँसी हस्तातरण गर्नु भएको थियो ।
उपप्रमुख चौधरीका पहिलो पति राजापुर नगरपालिका ट का परशुनारायण चौधरीको मृत्यु २०६३ साउन २७ गते भएको र २०७६ साल माघ २६ गते दोश्रो विवाह गर्नुभएको छ । तर हालसम्म पनि उहाँले पूर्व पतिको नामबाट बेपत्ता तथा शहीद परिवारलाई प्राप्त हुने सम्मान तथा सहयोग आफ्नी आमा मार्फत बुझ्दै आइरहनु भएको पूर्व पति परशुनारायण परिवारको आरोप छ ।
मृत पतिको नामबाट नागरिकता र दोश्रो विवाह
पहिलो पति परशुनारायणको मृत्यु भएको छ महिनापछि उपप्रमुखले जिल्ला प्रशासन कार्यालय बर्दियाबाट नागरिकता झिक्नु भएको हो । जिल्ला प्रशासन कार्यालयबाट २०६३ साल माघ २४ गते, नागरिकता नं. ६५३०२४/१७४७ रहेको नागरिकता निकाल्नु भएको थियो ।
पहिलो पतिको मुत्युको भएको ११ वर्षपछि उपप्रमुखले बारबर्दिया नगरपालिका –११ का कमलप्रसाद चौधरीसँग २०७६ साल माघ २६ गते दोस्रो विवाह गर्नु भएको हो । दोश्रो विवाह गरेको एकवर्ष पछि अर्थात् २०७७ साल फागुन २५ गते विवाह दर्ता गर्नु भयो । तर दोस्रो विवाह गरेको करिब ५ वर्ष हुँदा समेत उपप्रमुखले पहिला पतिको नाम रहेको नागरिकता प्रयोग गर्नुभयो ।
उपप्रमुख चौधरीले दोश्रो विवाह गरेको एक वर्ष पछि मृतक परशुनारायण परिवारलाई जानकारी समेत नदिएर २०७७ चैत्र २५ गते मृत्युदर्ता प्रमाणपत्र प्रतिलिपि निकाल्नु भएको थियो ।
वास्तविक परिवार हामी हौँ, हामी पीडित छौ – मृतकको बुवा
राजापुर नगरपालिका –६ का लौटन कुमार थारूको पूर्व बुहारी मनकला कुमारी चौधरीबाट पीडित भएको बताउनु भयो । उहाँले छोरा परशुनारायण चौधरीको मृत्यु भएपछि पाउने सेवासुविधा अर्को विवाह गरेर पनि उपप्रमुख मनकला कुमारी चौधरीले बुझ्दै आएकोले आफूहरू पीडित भएको बताउनु भयो ।
शहीद तथा बेपत्ता परिवारले पाउने सेवा सुविधामा परिवारको हक लाग्छ । तर उपप्रमुखले दोस्रो विवाह गरेपनि पहिलो पतिको परिवारले पाउने सेवा सुविधा आफैले लिँदै आउनु भएको बताउनु भयो । छोरालाई शहीद घोषणा गराउनका लागि आफूले कयौँ जोर जुत्ता खियाएको र निकै लामो समयको प्रयास पछि तत्कालीन शान्ति समितिको कार्यालयबाट छोरालाई शहीद घोषणको लागि सिफारिस गराएको मृतक परशुनारायणका बुबा लौटन थारूको दावी छ ।
उहाँले भन्नुभयो, ‘छोरालाई शहीद घोषण गर्न सफल भएपछि सरकारले राहत स्वरुप श्रीमती ठग्नी थारूको नाममा एक लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले मृतकको नजिकको हकदार श्रीमती कोही छ की नाई भनेर सोध्यो । मैले मृतक श्रीमती बुहारी मनकला भएको जानकारी गराए । त्यसपछि बाँकी रकम बुहारी मनकलाको नाममा आयो । नेपाल सरकारले दिएको सम्पूर्ण राहत बुहारी मनकलाले बुझिन ।’
वुहारीले दोस्रो विवाह गरेपछि पनि छोराको नाममा आउने राहत समेत उपप्रमुख चौधरीले नै बुझ्दै आएको बताउँदै बुबा लौटनले भन्नुभयो, ‘पालिकाले शहीद तथा बेपत्ता परिवारलाई गर्ने सहयोग र सम्मान पाउनबाट हाम्रो परिवार बञ्चित हुन परेको छ , हामी पीडित छौ, हामीले सन्तान गुमाएका छौ । ठीक छ उपप्रमुखले अर्को विवाह नगर्दासम्म मृतकको श्रीमतीको रुपमा छोराको नाममा आएको सम्पूर्ण राहत खाइन् । त्यसलाई हामीले पनि स्विकार गर्यौँ तर दोश्रो विहे गरेर गएपनि छोराकोे नामबाट प्राप्त हुने राहत हामीले पाएनौ ।’ अबका दिनमा नेपाल सरकारले दिने सुविधा आफूहरुले पाउनु पर्ने बुवा लौटनको माग छ ।
दोस्रो पतिकोे नाम कायम गरी नागरिकता
राजापुर नगरपालिकाको उपप्रमुखले नागरिकतामा दोस्रो पतिको नाम कायम गरी नागरिकताको प्रतिलिपि लिनु भएको छ । उप्रमुखले २०८१ बैशाख २५ गते पहिलो पतिको नाम हटाएर दोस्रो पतिको नामबाट नागरिकता झिक्नु भएको हो ।
उपप्रमुखले बारबार्दिया नगरपालिका वडा–११ को वडा कार्यालयबाट २०८१ बैशाख २५ गते चलानी नं. ८३४ रहेको सिफारिस पत्र तथा नागरिकताको अनुसूची फारम लिएर आउनु भएको थियो ।
दोस्रो विवाह गरेर पनि उपप्रमुखले धेरै समयसम्म पहिलो पतिको नाम रहेको नागरिकता प्रयो गरेर पालिको उपप्रमुख तथा न्यायीक समितिको संयोजक जस्तो जिम्मेवार पद रही कानुन विपरित काम गरिरहनु भएको थियो ।
नेपालकोे कानुनमा पहिलो पति वा पत्नीको मुत्यु भएका दोस्रो विवाह गर्न पाउने व्यवस्था रहेको छ । दोस्रो विवाह गर्ने बितिकै पहिलो पतिसँगको नाता स्वतः रद्द हुने कानुनमा प्रष्ट व्यवस्था रहेको छ ।
त्यसैगरी कानुनीमा भएको व्यवस्था अनुसार दोस्रो विवाह गरेर पनि म पहिलो पतिको श्रीमती हुँ भनी आफ्नो विवरण ढाटी राज्यलाई नोक्सान काम गर्न नहुने भनिएको छ । तर उपप्रमुखले राज्यबाट शहीद घोषण गरिएकाको परिवारले पाउने सेवा सुविधा, आर्थिक लाभ उपप्रमुखले आफ्नो आमा जनक कुमारी चौधरीलाई बुभ्न लगाएर शक्ति र सत्ताको दुरुप्रयोग गर्दै आउनु भएको थियो । शहीद परिवारले पाउनु पर्ने सेवा सुविधा आफैले लिइरहेको र आफ्नो नागरिकताको विवरण लुकाएर राज्यलाई ठगी गर्दै आउनु भएको छ ।
नगरपालिका उपप्रमुख चौधरी भन्नुहुन्छ :पीडित परिवारको हैसियतले राहत बुझेको हो
राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरी दश वर्षे जनयुद्धमा होमिएर आफूले पति गुमाएको हुदाँ सरकारले आफूलाई पीडित मानेर सम्मान गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ श्रीमान् गुमाएको पीडित महिलाको हैसियतले सरकारले सम्मान गर्यो र राहत दिएको हो । जीवोकोपाजन गर्नका लागि राहत दिएको हो । मैले अर्को विहे गरे पनि मेरो पहिलो पति मृत्यु भएकोले म पीडित नै हुँ । मैले पीडितको हिसाबले लिएको सम्मान तथा राहत लिएको हुँ । सरकारले मलाई पीडित मानेको छ, र सरकारले सम्मान गरेको छ । यदपी मैले राहत पाउनु पर्ने माग गरेको छैन् । कार्यापालिका, नगरप्रमुख र सरकारले गरेको निर्यण हो । पीडित परिवारले पनि पीडित हो भनेर सिफारिस गरेको छ । मलाई राहत देउ भनेर मैले कहि कतै भनेको छैन् । ’
सरकारले प्रत्येक वर्ष सम्मान पीडित परिवारको हैसियतले सम्मान गर्दै आएको छ, यस बारेमा सरकारलाई सोध्न उपप्रमुख चौधरीले आग्रह गर्नुभयो । उहाँले आफूले रहर नभएर बाध्यताले पति गुमाएकोले पनि पीडा भएकोले सरकारले सम्मान गरेको जानकारी दिनुभयो । एउटा पति गुमाएको पीडित महिलाले भएकोले आफूले राहत पाएको उपप्रमुखले दाबी गर्नु भयो ।
तर स्थानीय तहले प्रदान गर्ने राहतको कार्यपालिका निर्णय गर्ने र नेतृत्वमा उपप्रमुख आफै पनि हुनुहुन्छ । भने उहाँले पहिलो पतिको परिवारबाट अंशबण्डा समेत गरी सम्पती समेत लिनु भएको छ ।
उपप्रमुख वा अन्य जोसुकै राहत बुझेको भएपनि राहत फिर्ता हुन्छ :नगरप्रमुख चौधरी
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश चौधरीले शहीद तथा बेपत्ता परिवारले पाउने राहत नियम विपरित उपप्रमुख वा अन्य जोसुकै बुझेकोे भएपनि राहत फिर्ता हुने बताउनु भयो । उहाँले उपप्रमुखले आमा मार्फत राहत बुझेको बारेमा आफूलाई जानकारी नभएको र यस बारेमा आफूले बुभ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पालिका एक सय नौ जना शहीद तथा बेपत्ता परिवार हुनुहुन्छ । जसमध्ये ७० जना राहत पाइसक्नु भएको छ । यस आर्थिक वर्षमा ३९ जनालाई एक लाख रुपैयाँ बराबरको राहत दिने गरी बजेट व्यवस्थापन गरेको छौँ । पालिकामा शहीद तथा बेपत्ता परिवारको एउटा समिती छ , उहाँहरुले माग गरे अनुसारको एक लाख रुपैयाँ बराबरको सहयोग गर्दै पालिकाले गर्दै आएको हो । ’