बर्दिया । नेकपा एमाले जिल्ला कमिटी बर्दियाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । दोस्रो पूर्ण बैठकले जिल्ला कमिटी बर्दियाको वार्षिक कार्ययोजना निर्माण र पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरूको कार्यविभाजन गरेको छ । त्यसैगरी बर्दिया जिल्लाका विभिन्न जल्दाबल्दा समस्यालाई समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
बैठकले वार्षिक कार्ययोजना पास गर्दै पार्टी सदस्यता नवीकरण नयाँ पार्टी सदस्यता वितरण अभियान सञ्चालन गर्ने, वडा अधिवेशन भाद्र महिना भित्र सम्पन्न गर्ने , एक पालिका एक उत्पादनको नारा बनाई सबै पार्टी कार्यकर्तालाई उत्पादन सँग जोड्ने, टोल तह सम्म पार्टी कमिटी गठन गर्ने, पार्टी प्रशिक्षण तथा भेला निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैगरी प्रचारात्मक योजनामा प्रेस चौतारी नेपाल र प्रचार विभागलाई क्रियाशील बनाएर प्रचारको कामलाई व्यवस्थित गर्ने, नेकपा एमाले मोबाइल एपलाई सबैको मोबाइलमा पुर्याउने, आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा पार्टीको सही सूचना सम्प्रषेण गर्ने लगायतका योजना बैठकले बनाएको प्रचार विभाग प्रमुख झपिन्द्र खत्रीले बताउनु भयो । जनसङ्गठन परिचालन, आर्थिक स्रोत व्यवस्थापन, स्थानीय तहको परिचालन, पार्टी विस्तारको लागि युवा परिचालन, पार्टीको सम्पती विवरणको अभिलेखीकरण र विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयवस्तु समेटेर वार्षिक योजना बनाइएको प्रचार विभाग प्रमुख खत्रीले बताउनु भयो ।
कार्ययोजना सँगै बर्दियाली जनताको हरेक समस्यालाई समाधान गर्नका लागि विभिन्न प्रस्तावहरू पास गरिएको छ । बर्दिया जिल्लामा देखा परेका समस्यालाई समाधान गर्न स्थानीय सरकार, जिल्ला, प्रदेश र संघमा डेलिगेसन जाने, खबरदारी गर्ने र पहल गर्ने कार्यलाई अगाडि बढाउने नेकपा एमालेका अध्यक्ष शालिकराम अधिकारीले बताउनु भयो ।
बैठकले खेतीपातीको समयमा कृषकहरूलाई मलको आपुर्ति सहज बनाउनु पर्ने र अभाव परिपूर्ति गर्नका लागि कृषकहरूले भारतबाट ल्याउँदै गरेको मललाई प्रहरीले गर्ने धरपकड रोक्नुपर्ने, जङ्गली जनावरबाट हुने क्षतिको समयमा नै राहत तथा क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने, प्राकृतिक विपत्तिबाट हुने क्षतिको तत्काल राहत तथा क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग सम्बन्धित निकाय समक्ष गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जिल्लामा भएका विभिन्न कार्यालयहरूबाट भएको ढिलासुस्त र सेवाग्राहीलाई पर्ने गएको असुविधा तत्काल समाधान हुनुपर्ने, विभिन्न सेवा प्रदायक कार्यालयहरूको सेवा कार्यालयहरू जिल्ला मै सञ्चालन हुनुपर्ने, विकास निर्माणमा हुने ढिलासुस्ती गुणस्तरहीन विकास निर्माण कार्य बन्द हुनुपर्ने , भूमि समस्या समाधानका लागि तत्काल भूमिहीन सुकुम्बासी समस्या समाधान आयोग गठन गरी काम अगाडि बढाउनु पर्ने र कृषि उपजमा लगाएको भ्याट खारेजी गरी कृषि उपजको बजारीकरणमा ध्यान दिन सम्बन्धित निकाय समक्ष बैठकले माग गरेको छ ।
बर्दियामा देखिएको विविध समस्याहरुको समाधान गर्नका लागि जनाताको साथमा रहेको नेकपा एमालेका अध्यक्ष अधिकारीको भनाईरहेको छ । उहाँले जनताको समस्या समाधानका लागि नेकपा एमाले बर्दिया सदैव लाग्ने गरी वार्षिक कार्ययोजना बनाई लागु गरिएको बताउनु भयो । अबका दिनमा जनताका समस्यालाई लिएर समाधानका लागि हरेक कार्यालयहरुमा जाने र सुखदुखमा साथ दिने उहाँले बताउनु भयो ।