यज्ञप्रसाद सापकोटा
बर्दिया ।बर्दियामा साउन मसान्त सम्ममा शत प्रतिशत धान रोपाई भएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका अनुसार सिचाईको सुविधा भएको र आकाशे पानी समयमा परेको हुनाले पनि बर्दिया जिल्लामा शत प्रतिशत रोपाई भएको हो ।
असारको दोस्रो साता सम्म खडेरी परेको हुनाले अत्यन्त न्यून धान रोपाइ भएको थियो । तर असारको दोस्रो साता पछि बर्षात भए पछि धान रोपाइ धमाधम सुरु भएको थियो । बर्षात सँगै बबई नदिमा पानीको बहाब बढेपछि बबई सिचाई आयोजनाका नहरमा पानी पर्याप्त आएको थियो ।
राजापुर क्षेत्रमा भने कर्णाली नदिको पानीले सिचाइ हुने भएकोले तुलनात्मक रुपमा धान रोपाइ साउनको पहिलो साता मै सकिएको थियो । असार र साउनको पहिलो सातामा रोपिएको धान अहिले कृषकहरुले गोड्न थालेका छन् ।
एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका अनुसार बर्दियामा राजापुर सिचाई आयोजना, बबई सिचाइ आयोजना लगाएतका आयोजनाबाट बर्दियाको करिब ७० प्रतिशत भुभाग सिचाइ हुँदै आएको छ । नदिमा पानीको बहाब कम भएको हुनाले ति आयोजनाबाट सिचाइ हुने क्षेत्र समेत प्रभावित भएका थिए ।
यस बर्ष बर्दियाको सबै स्थानमा धान रोपाई भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले कृष्णसार अनलाइनलाइ बताउनु भयाे । उहाँले भन्नुभयाे –‘असारको दोस्रो साता सम्म निराशाजनक भएको धान रोपाई अहिले समग्रमा हेर्दा धान रोपाइ अत्यन्त राम्रो भएको छ । ’ यस बर्ष धानको उत्पादन अघिल्ला बर्षहरुको भन्दा राम्रो हुने अनुमान गरीएको उहाँले बताउनु भयाे ।