_कुमार नगरकोटी
मेचमा
मौन बसेको छ
बूढो अतीत / सिग्रेट पिउँदै
घडीबाट खसेको समय
टुक्राटुक्रा भई फुटी
भुइँभरी यत्रतत्र
छरिएको छ
क्यालेन्डरमा छाएका नग्न मोडलका
स्तूप –स्तन सुम्सुम्याइरहेका छन्
राता शनिबारहरू
डस्टबिनमा छन्, केही धूमिल याद
ओछ्यानमा
लम्पसार / नाङ्गै निदाएकी छे
सपना
क्यान्डल स्ट्यान्डमा
मृत मैनबत्ती शिखासँगै पग्लिएर
जमेको छ तिम्रो सम्झना
केही ठुटा बैँशहरु
एस –ट्रेमा ढलेका छन्
प्रार्थनाहरू
ह्याङ्गरमा झुन्डिएका छन्
कफी मगमा भिजिलान्तेको कल्पना सेलाएको छ
जीवन
सिलिङमा झुन्डिएको छ
मृत्यु
सोफा मै निदाएको छ ।
( कुमार नगरकोटीको घाटमान्डुबाट साभार )