यज्ञप्रसाद सापकोटा
मधुवन ।
मधुवन नगरपालिका ६ नं वडा कार्यालयले निलसागर सेवा आश्रमका असहाय बृद्ध आमाहरुलाई खाद्यन्न र सिरक डसना सहयोग गरेको छ । आश्रममा बस्ने बृद्ध आमाहरुलाई जाडोको समयमा सहज होस भनेर खाद्यन्न र सिरक डसना सहयोग गरेको मधुवन नगरपालिका ६ नं वडा कार्यालयका वडाध्यक्ष भक्तबहादुर सुनारले बताउनु भयो ।
खाद्यन्न र सिरक डसना हस्तान्तरण गर्दै वडाध्यक्ष सुनारले असहाय बृद्ध आमाहरुको दयनिय अवस्था देख निलसागर सेवा आश्रमको समन्यमा सहयोग गरेको बताउनु भयो । उहाँले करिब ५० हजारको बजेट विनियोजन गरेर २५ किलोग्रामका २० बोरा चामल, र १० जोर सिरक डसना सहयोग गरेको बताउनु भयो । उहाँले जनतालाई प्रत्यक्ष र दिर्घकालिन फाईदा हुने किसिमका कार्यक्रमहरुको आयोजना गरीरहेको बताउनु भयो ।
हस्तान्तरण भएको खाद्यन्न र कपडा बुझ्दै निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बर्दियाको मधुवनमा असहाय बृद्ध आमा र गुलरियामा असहाय बृद्ध बुवाहरुलाई आश्रममा राखिएको बताउनु भयो । उहाँले बृद्ध आश्रम खोलीनु र बढ्दै जानु सामाजिक हिसाबले राम्रो नभएपनि बेसाहारा हरुको संरक्षणको लागि आश्रम खोल्नुपर्ने बाध्यता भएको बताउनु भयो ।
निलसागर सेवा आश्रमका उपाध्यक्ष अमन निलसागरले मधुवनमा स्थापना भएको एक बर्ष नाघिसकेको भएपनि स्थानीय सरकारबाट प्रत्यक्ष रुपमा खाद्यन्न र कपडा सहयोग पाएको पहिलो पटक भएको बताउनु भयो । उहाँले भन्नु भयो –‘आश्रम स्थापनाको समयमा वडाध्यक्ष ज्यु ले सक्दो सहयोग गर्ने भन्नु भएको थियो आज पुरा गर्नु भयो ।’
वडा कार्यालयले एक औपचारीक कार्यक्रम गर्दै आश्रमका बृद्ध आमाहरुलाई नै खाद्यन्न र सिरक डसना हस्तान्तरण गरेको थियो । आश्रमका अध्यक्ष र उपाध्यक्षलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । महिला वडा सदस्य विर्मा वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी वडाध्यक्ष भक्तबहादुर सुनार हुनुहुन्थ्यो । त्यसैगरी कार्यक्रममा निसागर सेवा आश्रमका अध्यक्ष सरिता खनाल उपाध्यक्ष अमन निलसागर, मधुवन महिला तथा बालबालिका शाखाकी इन्द्रा चुनारा, समाजसेवी, पत्रकारहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव आनन्दलाल सुनारले गर्नुभएको थियो भने स्वागत् मन्तव्य वडासदस्य इन्द्रबहादुर शाहीले गर्नुभएको थियो ।