प्रकाश पौडेल , गुलरिया । मधुवन नगरपालिकामा शिक्षक छनौटको परीक्षामा सहभागी परीक्षार्थीले उत्तरपुस्तिका च्याति दिएपछि परीक्षा स्थगित भएको छ । मधुवन नगरपालिका –२ मा गंगापटुवामा रहेको शहीद आधारभूत विद्यालयको परीक्षार्थीले उत्तरपुस्तिका च्याति लिएपछि परीक्षा स्थगित भएको छ ।
शहीद आधारभूत विद्यालयले शिक्षण सिकाइका लागि एक जना शिक्षकको आवश्यकता रहेको रहेको विज्ञापन गरेको थियो । विद्यालयले गरेको विज्ञापन सीता लामिछाने, सति चौधरी, र दिनेश चौधरीको दरखास्त परेको विद्यालयका प्राधानाध्यापक आशाराम थारूले बताउनु भयो । उहाँले शिक्षक सिकाइ अनुदान कोटा लागि असारको २८ गते विज्ञापन गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ पालिकाको कार्यालयमा भदौ ५ गते परीक्षा गर्ने क्रममा परीक्षामा सहभागी परीक्षार्थी सीता लामिछानेले आफ्नो र अन्य दुई परीक्षार्थीको उत्तरपुस्तिका च्यात्नु भयो । लामिछाने उत्तरपुस्तिका च्याति दिएपछि परीक्षा स्थगित भएको छ । ’
तर परीक्षा सहभागी रहनु भएकी परीक्षार्थी सीता लामिछानेले परीक्षामा माध्यामिक तहको प्रश्नहरू रहेको कारण परीक्षा रोक्न आग्रह गर्दा नमाने पछि उत्तरपुस्तिका च्यातेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ परीक्षा सञ्चालन भएको केही बेरमा नै परीक्षामा माध्यामिक तहको प्रश्न छ । यसलाई रोक्न भनेकी थिए तर शिक्षा शाखा प्रमुखले तपाई भनेर परीक्षा रोकिन्छ भनेपछि उत्तरपुस्तिका च्यातेकी हुँ । मैले परीक्षा हलमा सहभागी हुँदा हाजिर समेत गरेकी छैन् । ’
मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण खनालले परीक्षा सहभागी परीक्षाले उत्तरपुस्तिका च्याति दिएपछि परीक्षा स्थगित गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ परीक्षामा हलमा प्रश्नपत्र च्यातिएको हो । तर परीक्षामा सहभागी परीक्षार्थीले भनेजस्तै प्रश्नपत्रमा कुनै कमीकमजोरी छैन् । परीक्षामा सहभागी परीक्षार्थीले प्रश्नपत्रमा नै प्रश्न उठाएपछि प्रश्नपत्र ठिक छ भनेर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हुँ । प्रश्नपत्रको बारेमा कसैलाई कुनै शङ्का भएमा प्रश्न पत्र हेर्न सक्नुहुन्छ । ’
परीक्षा कहिले गर्ने भनेर विद्यालयले व्यवस्थापन समितिले मिति तोकेपछि परीक्षा सञ्चालन हुने र परीक्षामा उत्तरपुस्तिका च्यात्ने परीक्षार्थीलाई सहभागी नगराइने शाखा प्रमुख खनालले बताउनु भयो ।