यज्ञप्रसाद सापकाेटा, ठाकुरबाबा । नेकपा एमालेका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले ठूला दलको गठबन्धन सहितको सरकार बनेपछि पानी धमिल्याएर माछा मार्ने दलहरू निराश भएको बताउनु भएको छ । उहाँले दुई ठूला दलहरूलाई फुटाएर तेस्रो दलले सरकार चलाइरहेको अवस्थामा दुई ठूला दलहरू मिलेर राजनीति स्थायित्व सहितको सरकार बनाएपछि देशलाई अस्थिरता तर्फ लैजाने तत्त्वहरू निराश भएको बताउनु भएको हो ।
नेकपा एमाले बर्दियाले ठाकुरबाबामा आयोजना पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । दुई दिन सम्म सञ्चालन हुने जिल्ला स्तरीय पार्टी प्रशिक्षणको उद्घाटन नेकपा एमालेका उपमहासचिव एवं पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले गर्नु भएको छ ।
पार्टी प्रशिक्षण उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सधैँभरि पानी धमिल्याएर माछा मार्ने तत्त्वहरूलाई दुई ठूला पार्टीको गठबन्धनले निराशा र छटपटाहट ल्याएको बताउनु भयो । अझैपनि यो गठबन्धन कसरी टुक्र्याएर देशलाई फेरी अस्थिरता तिर लैजान सकिन्छ भन्ने तत्व फेरी लागिपरेको बताउनु भयो । नेकपा माओवादीका अध्यक्ष प्रचण्डतर्फ इकित गर्दै आफू सरकारबाट हट्ने बितिक्कै देशलाई खरानी बनाउने अभिव्यक्ति नदिन उहाँले आग्रह गर्नु भयो ।
उपमहासचिव एवं स्कुल विभाग प्रमुख ज्ञवालीले देश विपत्मा पर्यो भने सम्हाल्ने दायित्व हाम्रो, देश सङ्कटमा पर्यो भने सम्हाल्ने दायित्व एमाले र काँग्रेसको तर यि दलहरू नै नमिल्दा साना दलहरूले सरकार चलाउने र देशलाई अस्थिरता र सङ्कटमा लैजाने देखिएपछि अहिले गठबन्धन बनेको बताउनु भयो । उहाँले अहिले देशमा छोटो समयमा धेरै सकारात्मक कार्यहरू भएको बताउँदै देशले स्थायित्व पाउने देखिएपछि अर्थतन्त्र सुधार हुँदै गएको बताउनु भयो । लामो समय देखि अलपत्र रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्ग्याएर राष्ट्रपतिबाट प्रमाणिकरण भएको बताउँदै अब शान्तिप्रक्रियाका अन्तिम कार्य टुङ्गिने अवस्था सिर्जना भएको बताउनु भयो ।
‘नेकपा एमाले जतिबेला सरकारमा गएको त्यतिबेला नेपालको इतिहासको धार बदल्ने गरी काम गरेका छौँ । ’ उपमहासचिव ज्ञवालीले भन्नु भयो –‘तर त्यसको प्रचार प्रसार भएको छैन । हामीले गरेका कामहरू जनता सम्म पुग्न सकेको छैन ।’ अहिले सबैको हात हातमा सञ्चार छ , अहिले हजुरहरु लाग्नु भयो भने सामाजिक सञ्जालमा राख्नु भयो भने आफै प्रचार प्रसार गर्न सक्नुहुन्छ ।
जिल्ला कमिटी सदस्यहरू पार्टीलाई सुदृढ बनाएर लैजाने जिम्मेवारी बोकेर निर्वाचित हुनुभएको बताउँदै उहाँले नेकपा एमाले सरकारमा भएपनि नभएपनि हरेक नेपालीको सुख दुःखमा पुगीरहेको बताउनु भयो । अझैपनि गाउँ गाउँका दुर दराजमा हुने आपत विपतमा जनताको सुख दुःखमा साथ दिनका लागि निर्देशन दिँदै नेकपा एमाले सँधै जनताको साथमा नै रहनु पर्ने उहाँले बताउनु भयो ।
पार्टी प्रशिक्षणको पहिलो दिन उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदेप ज्ञवाली , पार्टी स्कुल विभागका सचिव घनश्याम कोईराला र प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले प्रशिक्षण दिनु भएको थियो ।
त्यसैगरी सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, केन्द्रिय सदस्य एवंं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवाली र नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षणमा नेकपा एमाले बर्दिया पदाधिकारी सहित जिल्ला कमिटी सदस्य, प्रदेश कमिर्टी सदस्य र नगरकमिटी अध्यक्ष सहित एक सय ५० जनाको उपस्थीती रहेको नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिनु भयो । नेकपा एमाले बर्दियाले आयोजना गरेको प्रशिक्षणको व्यवस्थापन नेकपा एमाले ठाकुरबाबा नगरकमिटीले व्यवस्थापन गरेको छ ।