_सुशिल ज्ञवाली
गजल
त्यो नदी त्यो बगरको के कुरा गर्नुहुन्छ ?
जहाज चढेर डगरको के कुरा गर्नुहुन्छ ?
यो तन मन साटेर जोडिएको सम्बन्ध हो
फगत कर्के त्यो नजरको के कुरा गर्नुहुन्छ ?
जुगौँजुगसम्म सँगै रहने बाचा कसम थियो
कठै । यी एक प्रहरको के कुरा गर्नुहुन्छ ?
म चामल किन्न पसिना बेच्ने मान्छे परे
तपाईं मनमर्जी रहरको के कुरा गर्नुहुन्छ?
हजुरको मर्जी होस हाँसीहाँसी मरिदिन्छु
जावो थोपा जहरको के कुरा गर्नुहुन्छ ?