प्रकाश पौडेल, गुलरिया । नेपाल भारत सिमानामा गोलीको छर्रा लागेर एकजना घाइते भएको छन् । सिमानामा गुलरिया नगरपालिका – ८ नारायण टोलका ४५ वर्षीय बलराम लोध गोलीको छर्रा लागेर घाइते हुनु भएको हो ।
जङ्गलसँग बारी जोडिएकोले धानको रेखदेख गर्न गएको बेला भारतीय वन रक्षकले हानेको गोली लागेर घाइते भएको लोधका भाइ बाँकेलाल लोधले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बन्धकीमा जग्गा लिएर ५÷६ कठ्ठामा धान खेती गरेका छौ । हामीले खेती गरेको खेत ६२ नम्बर पिलर नजिक रहेको छ । खेतमा जङ्गली जनावर आएर धानबाली खाइदिने भएकोले दाइ खेतमा जानु भएको थियो । सोही समयमा भारतीय वन रक्षकले हानेको गोली छर्रा लागि दाइ घाइते हुन भएको हो । ’
गोली लागेर घाइते भएका लोध साढे सात बजे बर्दिया अस्पताल आएका थिए । घाइते लोधको अस्पतालमा उपचार गर्ने क्रममा एक्सरे गरेर हेर्दा घाइते लोधको शरीर १५ वटा छर्रा रहेको पाइएको बर्दिया अस्पतालले जनाएको छ ।
घाइतेको शरीरमा रहेको छर्रा निकाल्न यहाँ जोखिम हुने भएकोले थप उपचारको लागि नेपालगञ्ज पठाइएको बर्दिया अस्पतालले जनाएको छ । घाइतेको शरीर, टाउको र खुट्टामा छर्रा लागेको अस्पतालले जानकारी समेत दिएको छ । भने अस्पतालले रिफर गरेपछि थप उपचारको लागि घाइतेलाई नर्सिङहोममा लगिएको घाइतेको भाइ रमेश लोधले जानकारी दिनुभयो ।
लोधलाई गोलीको छर्रा लागेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयमा नायब उपरीक्षक ऋषिराम धर्तीमगरले बताउनु भयो ।
घाइते लोधको उपचार नेपालगञ्जमा रहेको नर्सिङहोममा भइरहेको छ । घाइते अवस्था सामान्य रहेको छ ।