कृष्णसार अनलाइन । पूर्व मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य राजिब गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको सयूक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए । चक्रेको हात काटिएको थियो । सो घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङे विरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिनुभएको थियो ।
सो उजुरीमा जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरेको थियो । घटना सहभागी केहीलाई अदालतले दुई वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दामा पुनरावेदन गरेको थियो । पाटन पुनरावेदन अदालतले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो । उक्त फैसलालाई मङ्गलबार सर्वोच्च अदालतले सदर गरेको हो ।