Division forest_Ads
Barista_Training

बर्दियामा ४५ सय क्विन्टल धान खरिद

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, गुलरिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले हालसम्म चार हजार पाँच सय क्विन्टल धान खरिद गरेको छ । यस सिजनमा एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । 

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले किसानबाट धान खरिद गरिरहेको छ । हरेक वर्ष विभिन्न पालिकाबाट धान खरिद गर्दै आएको कम्पनीका मुख्य शाखा प्रमुख केशवराज बुढाले बताए । गत वर्ष १६ हजार क्विन्टल मात्र धान खरिद गरेको बताउँदै यस वर्ष दीपावलीभन्दा अगावै धान खरिद सुरु गरिएको हुनाले लक्ष्यअनुसार धान खरिद हुने उनको भनाइ छ । 

Basgadhi PSA_final

सरकारले आर्थिक वर्ष ०८१/८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य वृद्धि भएको छ । कम्पनीले धान खरिदका लागि धानको गुणस्तर पनि तोकेको छ । धान सफा र राम्रो हुनुका साथै धानको मोइस्चर १८ प्रतिशत, अपरिपक्व दाना ५ प्रतिशत र बाह्य पदार्थ २ प्रतिशतभन्दा बढी हुन नहुने गरी तोकिएको छ । 

यस वर्ष धान खरिदका लागि कार्यालय परिसर, गेरुवा गाउँपालिकाको शान्तिबजारमनाउँ, राजापुर नगरपालिकाको बालाबजार र मानपुर टपरामा धान खरिद केन्द्र राख्ने योजना रहेको प्रमुख बुढाले बताए । गत वर्ष बारबर्दिया नगरपालिकामा समेत धान खरिद केन्द्र राखेको थियो । स्थानीय तहले माग गरेमा अरू पालिकामा समेत अस्थायी धान खरिद केन्द्र राख्न सकिने उनको भनाइ छ । यस वर्ष सहकारीमार्फत पनि धान खरिद गर्ने भनी केन्द्रले पत्राचार गरेको हुनाले केही समयमा सहकारीबाट समेत धान खरिद गर्न सकिने उनले बताए । 

व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दा मारमा पर्ने भएकाले किसानलाई राहत दिनका लागि सरकारले समर्थन मूल्य निर्धारण गर्ने गर्छ । गत वर्ष समयमा खरिद प्रक्रिया अगाडि नबढ्दा धान नपाउँदा लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुर कार्यालयले धान खरिद सुरु नगर्दासम्म राजापुरका किसानहरूले तीन हजार रुपैयाँ प्रतिक्विन्टलका दरले धान बिक्रि गर्न बाध्य थिए । हाल राजापुरमा स्थानीय व्यापारीहरूले मोटा धान नै तीन हजार तीन सयभन्दा बढी मूल्यमा खरिद गरिरहेका छन् । 

Leave A Reply

Your email address will not be published.