प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिका रहेको एक विद्यालयमा शौचालयको अभाव हुँदा पठनपाठन प्रभावित भएको पाइएको छ । राजापुर नगरपालिका –५, खल्लाजयपुर स्थित किसान माध्यामिक विद्यालयमा शौचालयको अभाव हुँदा पठनपाठनमा प्रभावित भएको हो ।
विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी दैनिक करिब ५ सय जनाले दैनिक शौचालयको प्रयोग गर्दै आएको छन् । तर विद्यालयका एउटै भवनमा छात्राछात्र र शिक्षक/कर्मचारीको शौचालय रहेको हुँदा पालो पालो शौचालय जानुपर्ने बाध्यता रहेको छ ।
किसान माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत शान्ति चौधरीले विद्यालयमा रहेको शौचालयमा एउटै भवन र सबै शौचालयको ढोका एकैतिर भएको हुँदा शौचालय भित्र सजिलै देखिने समस्या भएकोले छात्रा र छात्र पालो पालो शौचालयमा जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘शौचालय जाँदा पाँचदेखि १० मिनेट पर्खिनु पर्छ । छात्रहरू शौचालय गएको रहेछन् भने हामी शौचालय बाहिर कुनुपर्छ ।’ शौचालयको पालो पर्खिंदा १० मिनेटभन्दा बढी समय लाग्ने र उता सरले पढाइ रहेको समयमा कक्षामा जानुपर्ने बाध्यता रहेको चौधरीले बताउनु भयो । कक्षामा जाँदा सरले पढाइको विषय बस्तु छुट्ने र छुटेको विषय बस्तु बुझ्न समस्या हुने चौधरीको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक देविराम अधिकारीले विद्यालयमा शौचालयको व्यवस्था रहे पनि छात्रा, छात्र र शिक्षकको शौचालय एकै ठाउँमा भएकोले छात्राहरू जाँदा छात्रहरू जान नसक्ने र छात्रहरू जाँदा छात्राहरू जान नसक्ने भएकोले विद्यायलको पठनपाठन प्रभावित भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कक्षामा पढाइ भइरहेको हुन्छ । शौचालयमा पालो पर्खँदा विद्यार्थीहरू कक्षामा १०/१५ मिनेट ढिलो पुग्ने गरेका छन् । पढाइ भइरहँदा विद्यार्थीहरू कक्षामा प्रवेश गर्दा पठनपाठनमा प्रभावित हुने गरेको छ ।’
विद्यालयमा शौचालयको प्रमुख समस्या रहेको विषयमा सरोकार निकायलाई समेत जानकारी गराएको भए पनि खासै समस्याको सामधान नभएको प्रधानाध्यापक अधिकारी बताउनुहुन्छ । उहाँले छात्रा, छात्र स्टाफको लागि छुट्टाछुट्टै शौचालय आवश्यक भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्थापन गरेको छ । विद्यालयको आफ्नो स्रोत छैन । त्यसकारण विद्यालयको छुट्टाछुट्टै शौचालय बनाउने चाहना भए पनि विद्यालयले शौचालय निर्माण गर्न सक्दैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरीले विद्यालयमा शौचालय भएर पनि असहज भएको बताउनु भयो । उहाँले विद्यालयमा पढ्न आउने छात्राछात्रलाई एकै पटक शौचालय जान परेमा छात्र वा छात्रा मात्र जान सक्ने अवस्था रहेको बताउनु भयो । विद्यालयमा आउने आगन्तुक पाहुना र कर्मचारीलाई पनि शौचालय जान समस्या भएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – ‘विद्यालयको विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयको पर्खालभित्र वा पर्खाल बाहिर एउटा छात्राहरूको लागि शौचालय छुट्टै बनाउने सोच रहेको छ । म अध्यक्ष भएको दुई वर्ष भयो । यो दुई वर्षको अवधीमा स्थानीय तह लगायत विभिन्न निकायसँग पनि माग गरेको छु । तर कतैबाट सुनुवाइ हुन सकेको छैन ।’ खास गरी वडा र स्थानीय सरकारसँग शौचालयको विषयमा कुरा भएको छ । तर भने अनुसार सुनुवाइ नभएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
राजापुर नगरपालिका –५ का वडा अध्यक्ष रमेश चौधरीले विद्यालयमा शौचालयको समस्या भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनु भयो । उहाँले विद्यालयमा शौचालय समस्या भएको भएमा तत्काल कुनै उपाय खोजेर शौचालयको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजापुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दलबहादुर चौधरीले विद्यालयमा शौचालयको अभाव भएको विषयमा विद्यालयले जानकारी गराए पनि बजेट अभाव भएकोले थप शौचालय निर्माण गर्न नसकिएको जानकारी दिनुभयो ।