८९ प्रतिशत घरधुरी सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर
कार्यालय प्रमुख दुलाल - आयोजना सञ्चालन गर्दा बजेट अभाव
प्रकाश पौडेल, गुलरिया । बर्दियामा ८९ प्रतिशत घरधुरीका सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा ९४ हजार ६ सय ३० ( ८८.९९ प्रतिशत) घरधुरीका सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर रहेको पाइएको हो ।
अझै पनि बर्दिया ८८.९९ प्रतिशत घरधुरीका उपभोक्ता पानीको लागि चापाकलमा निर्भर रहेका छन् । चापाकलको पानीमा आइरन र आर्सेनिक मात्रा बढी रहेको छ । सोही आइरन र आर्सेनिक भएको पानी पिउन उपभोक्ताहरू बाध्य रहेका छन् । ११ प्रतिशत ११ हजार छ सय ९६ घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पँहुच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दिया प्राविधिक छविलाल बास्तोलाले जानकारी दिनु भयो ।यस वर्ष १० करोड १९ लाख ४ हजार रुपियाँ विभिन्न खानेपानी आयोजनामा छुट्टाएको प्राविधिक बास्तोलाले बताउनु भयो ।
उहाँले सो बजेटले पर्खाल निर्माण, विद्युतीकरण, टङ्की निर्माण, खानेपानी आयोजनाको कार्यालय निर्माण र खानेपानीको पाइप जडानका खानेपानी आयोजनाको मर्मत तथा विस्तार, सरसफाइ तथा ढल व्यवस्थापन लागि बजेट आएको बताउनु भयो ।
मधुवन नगरपालिका रहेको रामकृष्ण खानेपानी आयोजनाकी सचिव तृष्णा गुरुङले मानव जीवनको लागि सफा र सुरक्षित पानी अति आवश्यक रहेको बताउनु भयो ।सचिव गुरुङ भन्नुहुन्छ–‘ स्थानीय तहले खानेपानी ल्याब र प्राविधिक राखेर खानेपानी आयोजनाको गुणस्तर परीक्षण गर्नु पर्ने बताउनु भयो ।
खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाका कार्यालय प्रमुख बसन्तकुमार दुलालले खानेपानीको आयोजना सञ्चालन गर्दा बजेट अभाव, कार्यालय सञ्चालनका लागि जनशक्ति अभाव, सडक विस्तारका काम हुँदा खानेपानीको पाइपमा टुटफुट हुनु, ठेक्का निर्माणको काम समयमा सम्पन्न नहुनु, खानेपानीको आयोजना स्थानीय तहको प्राथमिकतामा नपर्नु लगाएको कारण पनि खानेपानीको आयोजनाको काम समयमा सम्पन्न नहुने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कार्यालयमा ५ जना सबइन्जिनियरको दरबन्दी भएपनि एक जना मात्र सबइन्जिनियर हुनुहुन्छ, जसमा कारण पनि समस्या भएको छ । भने खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताले पनि लगानी गर्नुपर्छ । तर उपभोक्ता समित सक्रिय नहुदाँ समस्या आउने गरेको छ । ’
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति महासङ्घको अध्यक्ष टिका सम्मेली सङ्घीय तथा प्रदेश सरकारले खानेपानी आयोजना सञ्चालन गर्नका लागि पर्याप्त मात्रमा बजेट व्यवस्थापन नगर्ने, बजेट ढिलो पठाउने, स्थानीय तहले प्रदेश र सङ्घीय सरकारको निर्भर हुने, कारण गर्दा खानेपानी आयोजनाका कामहरू समयमा सम्मन्न नहुने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पुरानो आयोजना मर्मतका लागि सरकारले बजेट व्यवस्थापन गर्दैन , उपभोक्ताहरूले समयमा खानेपानीको महशुल नतिर्ने हुँदा पनि समस्या भएको छ । भने उपभोक्ता सचेतनाको अभावले खानेपानी आयोजनाको भन्दा पनि चापाकलको पानी बढी प्रयोग गर्नुहुन्छ ।
उहाँले सरोकार सम्पूर्ण निकायले आयोजना निर्माणको लागि बजेट व्यवस्थापनसँगसँगै सचेतनाको कार्यक्रम पनि सञ्चालन गर्न जरुरी रहेको धारण व्यक्त गर्नुभयो ।