Division forest_Ads
Barista_Training

राउटे समुदायलाई गास र बासको चिन्ता, प्रत्येक वर्ष घट्दै जनसङ्ख्या

Geruwa GIF

जगतदल जनाला विक । आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम गरिरहेको गैरसरकारी संस्था सोसेक नेपालका अनुसार २०७५ असारदेखि हालसम्म यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् । उनीहरू अहिले सुर्खेतको बराहताल गाउँपालिका –२, गिरीघाटमा बसिरहेका छन् । पछिल्लो १० वर्षमा यो समुदायको जनसङ्ख्या २६ प्रतिशतले घटेको छ ।

२०७१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति सुर्खेत मार्फत् राउटेहरूको जनगणना गरेको थियो । त्यसबेला सुर्खेतमा बसोबास गरेका राउटेको सङ्ख्या १८२ जना थियो । राउटेको जनसङ्ख्या निरन्तर घट्नुमा मुख्यगरी उनीहरूका परम्परागत मान्यता र मदिरा सेवन हो । पहिला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राखेको राउटे समुदाय अहिले पैसा भनेपछि मरिहत्ते गर्छन् । महिला, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले बजारको रक्सी खान थालेपछी थप समस्या परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउनु भयो । समुदायको जनसङ्ख्या घट्नुको मुख्य कारण बाहिरको रक्सी नै रहेको उनी स्वीकार गर्नुहुन्छ ।

मुखिया शाहीले भन्नुभयो – ‘बाहिरको लिच्ची भन्ने रक्सी खान थालेपछी धेरै जनाको मृत्यु भयो । टिभीका, क्यान्सर र अन्य रोगहरूले समेत च्याप्न थाल्यो । त्यसकारण अहिले समुदायका कसैलाई पनि बाहिरको रक्सी खान दिएका छैनौँ । जथाभावी बजारमा घुमफिर पनि गर्न दिँदैनौ । बरु घरमै बनाएको जाँड साँझमा मात्रै खान्छौँ ।’ आफ्नो समुदायको जनसङ्ख्या घटेको प्रति उहाँ निकै चिन्तित हुनुहुन्छ । समुदाय जोगाउनका लागि हानिकारक वस्तुको प्रयोगमा बन्देज लगाउन थालिएको उहाँले बताउनु भयो । चिसो मौसममा ओढ्ने, ओच्छ्याउने लुगा र खाद्यान्नको अभाव रहेको मुखिया शाहीले गुनासो गर्नुभयोत्यसको परिपूर्तिका लागि उनले सरोकारवालासँग अनुरोध समेत गर्नुभएको छ ।

Basgadhi PSA_final

पछिल्लो आधुनिकीकरणले राउटेको अस्तित्व नै सङ्कटमा परेको लोपउन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले बताउनु भयो । ‘पहिला आफूले बनाएका काठका भाँडाकुँडाहरू अन्नसँग साट्ने उनीहरु अहिले पैसामा बेच्छन् । त्यसले उनीहरू मदिरा र बजारका चिजहरू किन्छन् । महिलाहरूमा पोषण अभाव, रक्सी सेवन र स्वास्थ्य सेवाको पहुँच नहुनाले प्रजनन क्षमतामा असर परेको छ’ – अध्यक्ष खड्काले भन्नुभयो

जङ्गल क्षेत्र घट्दै जाँदा बाँदर, गुना लगायतका जनारवरहरू नभएपछि उनीहरूको जीवनयापन गर्ने परम्परागत स्रोतहरूमाथि प्रत्यक्ष असर परेको उहाँलु बताउनु भयो । स्वास्थ्य सेवा र पोषण सुधार र उनीहरूको जीवनशैलीसँग मेल खाने दीर्घकालीन संरक्षण कार्यक्रमको व्यवस्था गर्नुपर्ने अध्यक्ष खड्काको भनाई छ ।

जङ्गलमा फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय पढलेख गर्नु, सिलाएका कपडा लगाउनु, अस्पतालमा उपचार गर्नु जस्ता विषयहरु आफ्नो परम्परा विपरीत मान्छन् । राउटे समुदायमा तीन ‌ओटा समूह छन् । जसमा रास्कोटी, कल्याल र शोवंशी छन् । कल्याल र शोवंशीभन्दा रास्कोटी समूहको जनसङ्ख्या झण्डै दोब्बरले बढी भएको अर्का मुखिया दिलबहादुर शाही बताउनुहुन्छ । उहाँका अनुसार तीन समूहको आ–आफ्नो समूहभित्र विवाह गर्न मिल्दैन । यी तीन ओटै समूहका आ–आफ्ना मुखिया हुन्छन् । राउटेको अपनत्व दैलेखको गुराँस गाउँपालिकाले लिएको छ । राउटे परिचयपत्र बनाएर गाउँपालिका मार्फत राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । उनीहरूको मुख्य बसोबास दैलेख, अछाम, जाजरकोट, सुर्खेत र सल्यानमा हुने गरेको छ । यी ठाउँहरूमा उनीहरू सिजन अनुसार बस्ती सार्ने गर्छन् ।

२०८१ जेठमा राष्ट्रिय मानव अधिकार आयोगले राउटे समुदायको संरक्षण, सुरक्षा, र उनीहरूको प्रथासँग सम्बन्धित अभ्यासको निरन्तरताका लागि विशेष कानुनी व्यवस्था गर्न तीन तहका सरकारलाई निर्देशन दिएको थियो । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकरालाई यस्तो निर्देशन पठाएको थियो । निर्देशनमा आयोगले राउटे बस्ती स्थानान्तरण सँगसँगै स्थानान्तरण हुने गरी घुम्ती प्रहरी चौकी स्थापना गर्न, राउटे समुदायको सामाजिक, सांस्कृतिक संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न, राउटे बस्ती स्थानान्तरणसँगै प्रशासन, पञ्जिकरण, खाद्यान्न, राहत, पोषण, स्वास्थ्य लगायतका सेवाहरूका लागि घुम्ती एकीकृत सेवा केन्द्र स्थापना गर्न, राउटे बस्तीमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण बन्द गर्न, राउटे, खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न भनेको थियो । त्यस्तै आयोगले राउटे समुदायको उत्थान, मुलप्रवाहीकरण तथा सशक्तीकरणका लागि एकीकृत आवधिक कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न र राउटेका मामिलामा काम गर्न कुनै विशेष निकायलाई जिम्मेवारी तोक्न पनि सङ्घीय सरकारलाई निर्देशन दिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.