प्रकाश पौडेल , गुलरिया । गुलरिया नगरपालिकामा नहर निर्माणको काम सुरू भएको छ । गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले नहर निर्माणको शिलान्यास गरेसँगै निर्माणको काम सुरु भएको हो ।
बबई सिँचाइ आयोजना राष्ट्रिय गौरव हो । बबई नदीको पानीलाई नहरको माध्यमबाट किसानको खेतसम्म पुर्याउने उद्देश्य आयोजनाको काम अगाडि बढिरहेको छ । बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, मधुवनको नगरपालिका नहर निर्माण भएर कतैकतै पानी समेत वितरण भएको छ । भने गुलरिया नगरपालिका नहर निर्माण लागि शिलान्यास भएसँगै निर्माणको काम अगाडि बढेको छ ।
नगरप्रमुख यादवले नहर निर्माणको काम सम्पन्न भएपछि यहाँका किसानले सस्तोमा सिँचाइ सुविधा पाउने बताउनु भयो । उहाँले नदीबाट आउने नहरको पानीले किसानको उत्पादनमा समेत वृद्धि गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आयोजनाको काम समयमा सक्ने गरी निर्माण कम्पनीले काम गर्नुपर्छ । त्यसको साथसाथै नहर बन्ने मात्र होइन नहरमा पानी आउने गरी आयोजनाले काम गर्नुपर्छ ।’
बबई सिँचाइ आयोजनाका प्रमुख सुशिलचन्द्र देवकोटाले गुलरिया नगरपालिकामा ४ किलोमिटर मूल नहर र १० किलोमिटर ५ सय मिटर शाखा नहरको निर्माणको काम हुने बताउनु भयो । उहाँले ८२ करोड भ्याट बाहेकको रकममा टेन्डर भएको नहरको काम २०८३ माघमा सम्मन्न हुने गरी स्वच्छन्द निर्माण सेवा कम्पनीले पाएको जानकारी दिनुभयो ।