

प्रकाश पौडेल, गुलरिया । पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा, र पर्यावरणमा परेको असरका कारण जलपन्छी चराको बासस्थान सङ्कटमा पर्दै गएको छ ।
पानी चराको खेल्ने, बस्ने र खाने ठाउँ प्राकृतिक नदी, खोला, ताल र सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक पानी चराको प्रजाति सङ्ख्या घटेको पाइएको छ ।
बर्दियाका विभिन्न ठाउँमा गरिएको पानी चराको गणनाबाट चराको सङ्ख्या घट्दै गएको पाइएको हो । प्रत्येक वर्ष बर्दियाको कर्णाली र गेरुवा नदी, बढैयाताल, सतखलुवा ताल लगायतका क्षेत्रमा पानी चराको गणना हुँदै आएको छ ।
प्रत्येक वर्ष हिउँदमा उपयुक्त बासस्थान र आहाराको खोजीमा बसाइसराइ गरी आउने चराहरूको गणना खोला, नदी, तालतलैयामा गरिने गरिएको नेचर गाइड सुशीला महतराले बताउनु भयो ।
नेपाल पन्छी संरक्षण सङ्घका हिरूलाल डगौराले नेपालमा ८ सय ९७ प्रजातिको चरा मध्ये २ सय प्रजातिका जलपन्छी रहेको जानकारी दिनुभयो । उहाँले वर्षेनी १ सय ५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको बताउनु भयो । उहाँले प्रत्येक वर्ष गरिने जलपक्षी गणनाले उनीहरूको प्रजाति र सङ्ख्याको बारेमा यकिन गर्न सकिने र संरक्षणको लागि ठोस नीति तथा योजना बनाउन सहज हुने बताउनु भयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सुनिल राउतले आगन्तुक चराहरू जाडो छल्नमा लागि प्रत्येक वर्ष नेपालमा रहेका तालतलैयामा आउने गरेको बताउनु भयो । उहाँले प्रत्येक वर्ष चराहरू कति आए, कुन कुन प्रजातिका आए, भनेर गणना गरिनुको साथै चराको संरक्षणमा रणनिति बनाउन पनि चरा गणना गरिएको जानकारी भयो ।
नेपाल पन्छीविद् सङ्घका केन्द्रिय सदस्य चराविज्ञ एवं पानी चरा गणना संयोजक रामबहादुर शाहीले सरकारले ठूला जनावरको संरक्षणका लागि काम गरेपनि चरा संरक्षणका लागि काम नगरेको बताउनु भयो । उहाँले पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बास स्थान सङ्कटमा परेकोबताउनु भयो । उहाँले माछा मार्ने, चरा मार्ने, जलवायु परिवर्तन, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू सङ्कटमा पार्दै गइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानवीय अतिक्रमणले चराको बासस्थान नास हुनु वा बिग्रनु, सिमसार क्षेत्र आसपासमा हुने प्लास्टिक जन्य फोहोर र पर्यावरणमा परेको असर मुख्य कारण देखिन्छ ।’ चरा पर्यटनको विकास र चरा संरक्षणको लागि स्थानीय सरकारले जनचेतनासँगै लगानी गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले गत वर्ष ९० प्रजातिको चरा गणना गरिएको र यस वर्ष चरा गणना भइरहेको जानकारी दिनुभयो ।