

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का समर्थकले वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीलाई गरेको दुर्व्यवहारको इन्सेकले विरोध गरेको छ । विज्ञप्ति जारी गर्दै रास्वपाका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई गरेको दुर्व्यवहारको इन्सेकले विरोध गरेको हो ।

वरिष्ठ अधिवक्ता डाक्टर त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेका थिए । सो घटनाको घटनाप्रति इन्सेकले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा तथा भर्त्सना गरेको छ ।
इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘ वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाको हामी निन्दा तथा भर्त्सना गर्दछौँ । कालिमाटीको स्वर्ण लक्ष्मी सहकारीमा ठगी मुद्दाका प्रतिवादी पूर्व गृहमन्त्री रवि लामिछानेको विपक्षमा त्रिपाठीले बहस गर्नुभएको थियो । स्वतन्त्र न्यायपालिका तथा न्याय सम्पादन प्रकृयामा गर्न खोजिएको अवरोध संविधानको अक्षर र मर्म विपरीतको कार्य हो । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहुने प्रबन्ध मिलाउन र घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन हामी नेपाल सरकारसँग माग गर्दछौँ ।’