

सिर्जना पन्त, बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर ९ को तित्याङ माध्यामिक विद्यालयको छतमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । विद्यालयको चमेना गृहमा विद्यालयकै छतमा फलेका तरकारीको परिकार पाक्छ । विद्यार्थी आफैले पकाउँछन् र बिक्री गर्छन् ।
३ वर्ष पहिले यहाँका विद्यार्थीले ५०÷५० रुपैयाँ सङ्कलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा सिजन अनुसारको तरकारी रोप्थे । फलेपछी शिक्षक विद्यार्थीले बाँडेर खान्थे ।
विद्यार्थीलाई उत्पादनसँग जोड्न, स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णङ्कको प्राक्टिकलका लागि विद्यार्थीलाई तरकारी खेती गर्न प्रोत्साहित गरेको थियो ।
तित्याङ्का विद्यार्थीले गमलामा तरकारी खेती गरेको सूचना पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको सिवाइसी नेपाल विद्यालयमै पुग्यो । सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर थ्री जेरो कल्ब गठन गर्याे ।
जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘सून्य गरिबी, सून्य बेरोजगारी र सून्य कार्वन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरेर विद्यार्थीलाई व्यवसायिकतातिर जोड्ने काम गर्दै आएको सिवाइसीले तित्याङका विद्यार्थीलाई पनि क्बलमा आवद्ध गरेपछि यहाँका विद्यार्थी थप उत्साहित भएर कौसी खेतीमा संलग्न भएका छन् ।
तीन वर्ष पहिलेदेखि अभ्यास शिक्षण (प्राक्टिकल) का लागि गमलामा तरकारी खेती गर्दै आएका विद्यार्थीलाई ०८१ साउन महिनामा सिवाइसीले बिउबिजन सहित कृषि सामग्री समेत उपलब्ध गरायो । मल, तरकारीको बिउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले क्लबलाई उपलब्ध गराएको थियो ।

त्यसपछि त यहाँका विद्यार्थीले विद्यालयमा मात्र होइन घरघरमा पनि तरकारी खेती गर्न सुरु गरेका छन् । विद्यार्थीले विद्यालयमै नर्सरी व्यवस्थापन गरेर घरघरमा तरकारी बिरुवा पुर्याउन थालेका छन् ।
कलाशिक्षक बिदामा बसेको समय, दिउसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन समेत विद्यार्थीहरू उत्साहित भएर विद्यालय आँउछन्, नर्सरी र तरकारी खेतीमा रमाउँछन्, विद्यालयको थ्रि जेरो क्लबका संरक्षक तथा शिक्षक भुपेन्द्र बहादुर खड्काले भन्नुभयो, क्लबले यसपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका बिरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गयो ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १ सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका बिरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाई छ । विद्यालयको कौसीखेतीमा मात्र होइन्, विद्यार्थीले घरमा लगेर रोपेका तरकारीको समेत हेरचाह आफै गर्दै आएको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताउनु भयो ।
‘विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँपनि व्यवहारिक शिक्षाको कुरा हुन्छ,’ शिक्षक खड्काले भन्नुभयो ‘देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यवसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेरमै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु ‘ स्थानीय उत्पादन’ कार्यक्रम र क्लबको उद्देश्य हो ।’
विद्यालय र विद्यार्थीले सञ्चालन गर्दै आएको यो अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ को पनि सहयोग रहेको विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायले बताउनु भयो । विद्यालयमा उत्पादन र बिक्रीवितरणका लागि फरक फरक २ वटा थ्रि जेरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ ।
विद्यालयको हरेक शुक्रबार हुने अतिरित्त क्रियाकलाप र विभिन्न विषेश कार्यक्रममा विद्यार्थीले आफुले उत्पादन गरेका तरकारीका परिकार बनाउछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बेच्छन् । बिक्री भएर आएको पैसाबाट पुनः तरकारीको बिउ, मल किन्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर थापाले बताउनु भयो ।