

प्रकाश पौडेल, गुलरिया । वर्षेनी बर्दियामा क्यान्सर रोगका बिमारी बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या बढेसँगै क्यान्सर रोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।
क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्या रूपमा रहेको छ । यो रोग वंशानुगत गुण, चुरोट, रक्सी सुर्तीजन्य पदार्थ, भाइरल संकमण, बिकिरण, विषादीयुक्त खाना लगायतका कारण क्यान्सर रोग लाग्ने गर्दछ । स्थानीय तहको तीन वर्षको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारका लागि सङ्घीय सरकारले दिने एक लाख रुपैयाँको सहयोग लिनका लागि सिफारिस लिनेहरूको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७८÷०७९ मा दुई सय २४ जनाले सिफारिस लिएका थिए । त्यसैगरी २०७९÷०८० मा दुई सय ९४ जनाले र गत आर्थिक बर्ष २०८०÷०८१ मा तीन सय ६१ जनाले सिफारिस लिएको स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क छ ।
बर्दियामा एक सय २४ विषादी बिक्रीकेन्द्र

बर्दियामा एक सय २४ एग्रोभेट रहेको पाइएको छ । बर्दियामा रहेको एक सय २४ एग्रोभेट पसलबाट विषादी बिक्रीवितरण हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका वरिष्ठ बागवानी अधिकृत रामप्रकाश यादवले बताउनुभयो । विषादीको प्रयोगले वातावरणमा प्रदुषण हुनुको साथै मानव जीवनमा समेत असर पुग्ने गरेको छ । पछिल्लो समयमा कृषि बालीको उत्पादन बढाउने उद्देश्यले विषादीको अत्याधिक प्रयोग हुने गरेको छ । भने खुल्ला सिमानाले गर्दा सीमावर्ती बजारबाट लुकिछिपी समेत विषादी आउने गरेको छ । सिमा नाकाबाट कति विषादी आउँछ भन्ने राज्यसँग नै तथ्याङ्क छैन् ।
विषादी युक्त खानाले क्यान्सर हुन्छ – डाक्टर यादव
विषादीयुक्त तरकारी, फलफूलको प्रयोगले क्यान्सरको जोखिम बढाउने क्यान्सर रोग विशेषज्ञ डाक्टर मुकेश यादले बताउनु भयो । उहाँले मल र विषादीले शरीरमा नकारात्मक असर पुर्याउनुको साथै क्यान्सरको जोखिम बढ्ने बताउनु भयो । डाक्ट् यादव बताउहुन्छ, ‘विषादीले खेतबारीमा लाग्ने किरालाई मार्ने गर्छ । त्यही विषादी शरीरमा प्रत्यक्ष रुपमा पर्दा त्यसले शरीरमा रहेका कोषहरू नष्ट गर्छ र क्यान्सरको जोखिम बढ्छ ।’ विषादीको प्रयोग गर्दा माक्स लगाउने, पन्जा लगाउने, शरीर पुरा छोपेर विषादी छर्ने गर्नुपर्ने डाक्टर यादवको सुझाब रहेको छ । उहाँले विषादी छर्दा जहाँ छोइन्छ, त्यहाँ साबुन पानीले राम्रोसँग धुनुपर्ने बताउनु भयो ।
किसानमा बढी क्यान्सर
बर्दियामा क्यान्सर पीडितहरुमध्ये अधिकांश किसानहरु रहेको पाइएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले प्रत्यक्ष रुपमा विषादी प्रयोग गर्ने किसानमा बढी क्यान्सर रोग देखिएको बताउनु भयो । उहाँले किसानले खेतबारीमा काम गर्दा सावधानी नअपनाउनाले पनि कृषक नै बढी जोखिममा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मल बीउको प्रयोग गर्दा किसानहरूले सुरक्षा उपाय अपनाउँदैनन् । विषादीको प्रयोग गरेपछि करिव १५÷२० दिन तरकारी फलफूलहरू खेतबारीमा रहन दिनुपर्छ तर किसानले विषादी प्रयोग गरेको केही दिनमा नै बेच्न लैजाने हुँदा पनि क्यान्सरको जोखिम बढिरहेको छ ।’ खेतबारीबाट उत्पादन भएका तरकारी तथा फलफूल विषादी प्रयोग गरेको अवधी पुरा भएपछि मात्र विक्रीवितरण गर्न समेत ढकालको सुझाव रहेको छ ।