

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

आइतबार दिउँसो बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने पूर्वानुमान छ। राति कोशी, बागमती र गण्डकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौमस सफा रहने पनि महाशाखाले जनाएको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।