

प्रकाश पौडेल, गुलरिया । बर्दियामा सबैभन्दा बढी रगत दिने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ, ठाकुरबाबा नगरपालिका –३ मानपुरका ५९ वर्षीय प्रेम लम्साल । उहाँले अहिलेसम्म ७२ पटक रक्तदान गर्नु भएको छ । लम्सालले रक्तदान गर्नका लागि उमेर बाधक कयौंको भन्ने सन्देश दिदै आउनु भएको छ ।
‘आफूले दिएको रगतले अरुले ज्यान जोगिएको देख्दा र सुन्दा आनन्द महसुस हुन्छ, त्यही भएर रक्तदान गर्ने गरेको छु’, लम्साल बताउनु हुन्छ । नेपाल स्वयसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहनु भएका लम्साल बर्दियामै सबैभन्दा बढी रक्तदान गर्नेमा पर्नु हुन्छ । उहाँले पहिलो पटक २०५८ सालमा वीरेन्द्रनगर सुर्खेतमा रक्तदान गर्नु थियो । त्यसपछि निरन्तर रूपमा रक्तदान गर्दै आउनु भएको छ । सामाजिक काममा उतिकै रुचि राख्ने लम्साल अहिले पनि रक्तदान गर्न पछि हट्नु हुँदैन् ।
स्वास्थ्यको दृष्टिकोणले १८ वर्षको उमेरबाट रक्तदान गर्न सकिन्छ । तर कयौँ मानिसहरू रक्तदान गर्दा कमजोर भइन्छ । बिरामी भइन्छ भन्ने भ्रममा पर्दा रक्तदान गर्दैनन् । लम्साल भने ५९ वर्षको उमेरमा पनि रक्तदान गरिरहनु भएको छ । र उहाँले रक्तदान गर्दा कुनै असर पर्दैन भन्ने सन्देश दिन रक्तदान भएकोठाउँमा नै गएर रक्तदान गर्ने गर्नुहुन्छ । र उहाँले पहिलो पटक रक्तदान गर्नेहरूलाई प्रेरित समेत गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म यो उमेरमा पनि रक्तदान गरिरहेको छु, तपाई युवाहरूले पनि रक्तदान गर्ने गर्नुहोस् । रक्तदान गर्दा स्वास्थ्यमा कुनै असर नै गर्दैन ।’
सबैभन्दा उच्च स्थानमा रक्तदान र सम्मान
रक्तदान कार्यक्रमको बारेमा थाहा पाउने बितीकै रक्तदान गर्न पुग्ने लम्सालले नेपालको उच्च स्थानमा गएर रक्तदान गर्नु भएको छ । उहाँले नेपालको ३३ सय मिटरको उचाइमा रहेको खप्तडमा २०८१ जेठ ५ गते रक्तदान गर्नु भएको हो ।
चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको संगम स्थलको रुपमा परिचित खप्तडमा उहाँले रक्तदान गर्नु भएको छ । उहाँले गरेको रक्तदानको उच्च मूल्याङ्कन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको १९ औँ राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलबाट सम्मानित समेत हुन भएको छ ।
कार्यक्रममा सम्मानित भएपछि उहाँले भन्नुभयो, ‘नेपालमा प्रारम्भदेखि हालसम्म सञ्चालन भएका रक्तदान मध्ये नेपालको इतिहासमा सबैभन्दा उच्च स्थान ३३ सय मिटर रहेका खप्तडमा रक्तदान गर्न पाउँदा सर्वाधिक खुशी छु । खप्तडमा भएको रक्तदान कार्यक्रममा रक्तदान गरेपछि स्वास्थ्य मन्त्री पौडेलबाट सम्मानित हुन पाउँदा अत्यन्त हर्षित भएको छु ।
पहिलो पटक रक्तदान
लम्सालले पहिलो पटक २०५८ सालमा पहिलो पटक रक्तदान गर्नु भएको हो । उहाँले नेपालमा सामुदायिक सशक्तिकरणको क्षेत्रमा काम गर्ने सहकर्मी समाज नेपालको आयोजनामा २०५८ साल बैशाख १ गते भएको रक्तदान कार्यक्रमबाट रक्तदान गर्नु भएको थियो । सो समयबाट अहिले सम्म पनि लम्सालले निरन्तर रुपमा रक्तदान गर्दै आउनु भएको छ । उहाँले रक्तदान गर्नकै लागि सुर्खेत, बाँकेको नेपालगन्ज, बाँकेको कोहलपुर, कञ्चनपुर कैलाली बैतडी जिल्लामा गएको बताउनु हुन्छ । रगतको अभावका कोही बिरामी समस्यामा परेको थाहा पाउने बितीकै लम्सालले रगत व्यवस्थापन गर्नुका लागि विभिन्न ठाउँमा फोन मार्फत सहजीकरण गर्नुका साथै कयौँ पटक तीन महिना नपुग्दै रक्तदान समेत गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘कार्य व्यस्तताको कारणले गर्दा कतिपय समयमा रक्तदान गर्ने समयमा पुग्न नसक्दा र मनले चाहदाचाहदै पनि रक्तदान गर्न छुटेकोमा ज्यादै ठूलो पछुतो महसुस हुन्छ ।
सुर्खेतबाट बसाइ सरी बर्दिया
सुर्खेतबाट बसाइसराइ गरी लम्साल २०६९ सालमा बर्दिया आउनु भयो । उहाँले बर्दियालाई कर्म थलो बनाएर पनि रक्तदानको पवित्र कार्यलाई निरन्तरता दिनुभयो ।
बगनाहामा आएर पनि स्थानीय सङ्घसंस्थाद्वारा आयोजित कार्यक्रमहरूमा गएर कयौँ पटक रक्तदान गर्नु भयो । र अहिले सो अभियानलाई निरन्तरता दिनु भएको छ । लम्सालले दिएको रगतले जीवनले बाँचेकाहरु मध्ये कतिले उहाँलाई चिन्दा पनि चिन्दैनन् । भने कतिले चाँही सार्वजनिक स्थानमा उहाँको गरेको योगदानको चर्चा गर्ने गर्छन् ।

लम्सालको पहल र सहजिकरणमा ठाकुरबाबा नगरपालिकाले नियमित रुपमा रक्तदान गर्दै आएको छ । निवर्तमान नगरप्रमुख घननारायण श्रेष्ठ र उपप्रमुख कृष्णा कृस्मा थारु (आस्था)सँग लम्सालको भेटघाट भएपछि रक्तदानको महत्वको बारेका छलफल भएको थियो । सोही समयबाट पालिकाले नियमित रुपमा रक्तदान गर्दै आएको हो ।
पालिकाले २०७४ माघ १० देखि वर्षको २ पटक रक्तदान कार्यक्रम सुरुवात गरेको हो । सो रक्तदान कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्न स्थानीय निकायमा रहेका सरोकारवाला संघसंस्थाहरुको सहयोग र सहकार्यमा रक्तदान कार्यक्रमहरु संचालन गर्ने भन्ने पालिकाले निर्णय ग¥यो । त्यसबेलादेखि ठाकुरबाबा नगरपालिकामा नियमित रुपमा रक्तदान कार्यक्रम हुर्दै आएको छ । लस्सालको अगुवाइमा सुरु भएको रक्तदान कार्यक्रमलाई अहिलेका नगरप्रमुख तिलक लम्साल र उपप्रमुख बिना भट्टराईले समेत साथ दिएर अहिले वर्षको ३ पटक रक्तदान कार्यक्रम गर्दै आएको पाइन्छ ।
बैशाख जेठको गर्मीमा साइकलमा गएर रक्तदान
कसैलाई रगतको अभावमा कसैले ज्यान गुमाउन हुन्न भन्ने मान्यता राख्ने लम्साल तराईमा अत्याधिक गर्मी हुने बैशाख जेठको महिनामा पनि साइकल चलाएर टाढा टाढासम्म रक्तदान गर्न जानु भएको छ । कञ्चरपुरको चाँदनी दोधारा र कैलालीको गोदावरीमा बसेर काम गर्दा बिरामीलाई रगत चाहिएको छ, भन्ने सुन्ने बितिकै रक्तदान गर्न साइकल चलाएर गएर समेत रक्तदान गरेको अनुभव उहाँको रहेको छ । कयौँ मानिसहरुले रक्तदान गरेपछि कमजोर भइन्छ । रिँगाटा लाग्छ भन्ने गरेको पाइन्छ । तर लम्सालले भने साइकलमा गएर पनि रक्तदान गर्नु भएको छ ।
लम्साल भगवान हो –थारु
ठाकुरबाबा नगरपालिका –३ का राजु थारुले लम्साल आफ्नो परिवारको लागि भगवान भएको बताउनु हुन्छ । उहाँले रगतको अभावमा समस्यामा परेको बेलामा कयौँ पटक रक्तदान गरेर लम्सालले सहयोग गरेको बताउनु भयो । ‘रगतको अभावका समस्या परेका कयौँ परिवारका लागि रगत व्यवस्थापन गर्नमा सहयोग गर्ने प्रेम सर भगवान हो । उहाँले गरेको सहयोग अमूल्य छ ।’ थारूले बताउनु भयो ।
त्यसैगरी रामदास थारुले पनि आफ्नो बहिनीलाई रगतको अभाव भएर समस्या पर्दा लम्सालको सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मेरो बहिनीलाई थालेसिमिया रोग लागेका थियो, प्रत्येक महिना रगत चढाउनु पर्दथ्यो । रगतको अभाव हुन नदिन प्रेम सरले नियमित सहयोग गर्नु भयो । तर अहिले थालेसेमिया रोगका कारण बहिनीको मृत्यु भयो । प्रेम सरले संकटमा गरेको सहयोगको गुण हाम्रो परिवारले कहिले तिर्न सक्दैन् ।’
रक्तदाता समाजसँग सहकार्य
नेपाल स्वयंसेवी रक्तदाता समाजसँग सहकार्य गरेर काम गरेको पनि लम्सालले तीन वर्ष पुगेको छ ।
ठाकुरबाबा नगरपालिका – १ का निवर्तमान वडा अध्यक्ष श्यामलाल थारुको कार्य कक्षमा २०७८ साल असोज २ गते भएको भेटघाट पछि बर्दियामा नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गर्ने सहमती भएको थियो । सोही अनुसार २०७८ असोजको १६ गते नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला कार्यसमिति लम्सालको अध्यक्षमा गठन भएको थियो ।
लम्सालको अगुवाइमा बर्दियामा रहेका ८ वटा स्थानीय तहमा नगर कार्यसमिती समेत गठन भएको छ । सामुहिक कर्ममा विश्वास गर्ने लम्सालले नेपाल स्वयंसेवी रक्तदाता समाज नगर र पालिकाका समितीसँग मात्र नभएर स्थानीय तह, सहकारी, रेडक्रस, अन्य सरकारी तथा गैर सहकारी संस्थाँसँगै मिलेर समेत काम गर्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘रक्तदान कार्यक्रम मार्फत बर्दियालाई हामीले छुट्टै पहिचान दिन सफल भएका छौं । तर यति मात्रले प्रयाप्त हुदैन् ठाकुरबाबा नगरपालिकाले जस्तो अन्य पालिकाले, सरोकारवाला संघसंस्थाहरुले, रक्तदान कार्यक्रमलाई आफ्नो नियमित कार्यक्रमको रुपमा राख्न सके यो अभियान अझै प्रभावकारी हुनेछ । बर्दियालाई नेपालको उत्कृष्ट रक्तदाता जिल्लाको रूपमा चिनाउन सकिने योजना र सपनाको साथमा हामी सबै लाग्न जरुरी रहेको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘बर्दियाको थप पहिचानको लागि अत्यन्तै महत्वपूर्ण काम हो ।
दाङ जिल्लाको गढवामा बसेर काम गर्ने क्रममा घोराहीमा रक्तसञ्चार केन्द्र भएको र त्यहाँ जानको लागि समय मिलाउन नसकेर रक्तदान गर्न छुटेको कुराले निकै तीतो पछुतो महसुस हुने गरेको लम्साल बताउनु हुन्छ ।
पछिल्लो समयमा लम्सालले रक्तदान गरेको देखेर अन्य कयौंले रक्तदान गरेको प्रशस्त उदाहरण रहेको छ । पहिलो पटक रक्तदान गर्नेहरूको लागि लम्साल प्रेरणाको स्रोत समेत हुनु भएको छ ।