

प्रकाश पौडेल, गुलरिया । रोजगारीको खोजीमा विदेश पलायन हुने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । देशमा केही पनि गर्न सकिएन । देशमा काम गर्ने वातावरण छैन् । राम्रो काम गर्नेलाई अवसर छैन् भन्ने कयौँले भन्ने गरेका छन् ।सीप भए देशमा केही गर्न सकिन्छ, भनी कैलाली चुहा नगरपालिकाका ४० वर्षीय राजु चौधरीले झोला उद्योग सञ्चालन गर्नु भएको छ ।
उहाँले गुलरिया नगरपालिका –५ शहीद यमलाल लामिछाने चोक नजिक राजु झोला उद्योगमा सञ्चालन गर्नु भएको छ । दैनिक रुपमा विभिन्न डिजाइनका झोला निर्माण गर्दै बिक्रीवितरण गर्दै आउनु भएको छ ।
बर्दिया पहिलो पटक झोला उद्योग सञ्चालन गर्नु भएका राजु चौधरीले दैनिक २० वटासम्म झोला एक जनाले निर्माण गर्न सकिने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीय बजारमा झोलाको माग रहेको छ । तर समयमा पैसा नउठ्ने समस्याले गर्दा थप लगानी गर्न सकेको छैन् । तर पछिल्लो समयमा उद्योगसम्म आएर झोला किन्नेको सख्या बढ्दै गएको छ । अझैपनि धेरैलाई झोला उद्योगको बारेमा पनि थाहा नभएर होला सोचे अनुसार व्यापार हुन सकेको छैन् । प्रचारप्रसार हुन सके झोला उद्योगको राम्रै सम्भावना छ । देशमा अवसर देखेर नै झोला उद्योग खोलेको हुँ ।’
विगत एक वर्ष अघिदेखि १० लाख रुपैयाँ लगानी गरेर उद्योगमा सञ्चालन गरेका चौधरीले व्यापार व्यवसायबाट सन्तोषजनक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सुरुको दिनको तुलनामा अहिले व्यापार सन्तोषजनक रहेको छ । आजकाल विद्यार्थीहरू झोला किन्न यहीँ आउने गरेको छन् । भने विभिन्न सङ्घसंस्थाबाट समेत झोलाको माग हुने गरेको छ ।’
चौधरीले घरेलु तथा साना उद्योगको कार्यालयमा गत आर्थिक वर्षको असोजमा झोला उद्योग दर्ता गरेर झोला निर्माणको काम सुरु गरेका थिए । उद्योगबाट निर्माण भएको झोलाको बिक्रीवितरणबाट आफू सन्तुष्ट रहेको चौधरी बताउनु हुन्छ । घरेलु तथा साना उद्योगको कार्यालयले झोला उद्योगको लागि कार्यालयमा बजेट रहेको जानकारी पाएपनि आफूले सो कार्यालयबाट कुनै सहयोग नलिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालनका लागि अनुमति लिने बितीकै अनुदानको लागि दर्ता गरेको जस्तो हुने भएकोले पनि अनुदान नलिएको हो ।

दुई सयदेखि २५ सय सम्मका झोला
राजु झोला उद्योगमा एक सय ८० रुपैयाँदेखि २५ सय रुपैयाँसम्मका झोला पाइन्छ । उद्योगमा सामान्य देखि फेन्सी डिजाइनरसम्मको झोला रहेको छन् ।
चौधरीले फेसन अनुसारको झोला डिजाइन लगायतका झोला निर्माण गर्नु भएको छ । विद्यालयका कक्षा कोठामा भन्दा पनि सानैदेखि मेसिनमा रुचि राख्ने चौधरी कक्षा २ मा पढ्दापढ्दै पढाइ छोडेर सिलाउने काम रमाउनु भयो । त्यहीँ सिलाउने सीपमा कारण झोला उद्योग सञ्चालन गरेर झोला उद्योगको मालिक समेत हुनु भएको छ । कैलालीमा झोला निर्माण गर्न सिक्नु भएका चौधरीले काठमाडौँ , नेपालगन्जमा समेत झोला निर्माण गर्ने काम गर्नु भएको छ ।
चौधरी भन्नुहुन्छ, ‘झोला बनाउन थालेको पनि २० वर्ष भयो । अन्य ठाउँमा काम गर्दा मेरो काम झोलाको डिजाइन निर्माण गर्ने हुन्थ्यो । तर अहिले आफ्नो उद्योग सञ्चालन गरेपछि आफैले सिलाउने समेत गरेको छु ।’झोला निर्माणका लागि आवश्यक पर्ने समान बुटवलबाट ल्याउने गरेको र नपुगेको खण्डमा नेपालगन्जबाट ल्याउने गरिएको चौधरीले जानकारी दिनुभयो ।
झोला उद्योग सञ्चालन गरेर घरपरिवारको साथमा बसेर काम गर्न पाउँदा चौधरी खुशी समेत हुनुहुन्छ । भने सीप भएका देशमा बसेर समेत काम गर्न सकिन्छ भन्ने सन्देश समेत दिनु भएको छ ।