

प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेको ठाकुरबाबा नगरपालिकाले मगरहरूको हराउँदै गएको परम्परागत लोक नृत्य मारुनीको संरक्षणका लागि मारुनी नृत्यको तालिम दिएको छ । पालिकाले पालिका स्तरीय प्रज्ञा प्रतिष्ठानको गठन गरी परम्परागत लोक नृत्य मारुनीको संरक्षणका लागि तालिम दिएको हो।
पछिल्लो समयमा मगर जातिको परम्परागत भेषभूषा कला संस्कृति भाषा लोप हुँदै गएको छ । पालिकाले लोपोन्मुख अवस्थामा रहेका र हराउँदै गएको कला, संस्कृतिक, भेषभुषा संरक्षणमा प्रर्वद्धन गर्ने उद्देश्यले पालिका प्रज्ञा प्रतिष्ठानमार्फत काम गर्दै आएको छ । पालिकाले सोही उद्देश्य पुरा गर्ने लक्ष्य राखेर मगर जातीमा लोकप्रिय रहेको मारुनी नृत्यको संरक्षण गर्न मगर सङ्घसँग सहकार्य गरी १५ दिनको नृत्य तालिम समेत गराएको छ ।

मारुनी नृत्यका प्रशिक्षक सक बहादुर आलेले मारुनी नृत्यको संरक्षणका लागि नृत्य तालिम महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तालिममा सहभागीहरूले नृत्य सिक्दा रुचि पूर्वक सिक्नुभयो भने तालिममा सिकेका नाचलाई समुदायमा पनि देखाउन थाल्नु भएको छ। लोप हुँदै गएको नृत्य संरक्षणमा पालिका खेलेको भूमिका महत्वपूर्ण छ ।’ कला संस्कृतिको संरक्षणका लागि पालिकाले ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानमार्फत नृत्यको तालिम दिँदा हराउँदै गएको नृत्यको संरक्षण हुनेछ ।
पालिका स्तरीय प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले पालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेर समुदायमा रहेको विभिन्न जातजातिको कला, संस्कृति, भाषा भेषभुषा संरक्षणका लागि काम गरेको छ । ‘बर्दिया ठाकुरबाबा नगरपालिकाले गरेको कामले यहाँको समुदायमा रहेको जातिगत विविधताको संरक्षण र प्रर्वद्धन गर्न मद्दत पुगेको छ’ उहाँ हुन्छ ।
पालिका नगरप्रमुख तथा ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक तिलकराम लम्सालले पालिकामा रहेको जातिगत विविधताको सुन्दर पक्षको प्रचारप्रसार गर्न र संरक्षण गर्नका लागि पालिकाले काम गर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘ठाकुरबाबा नगरपालिका बर्दिया राष्ट्रिय निकुञ्ज रहेको पालिका हो । यहाँ विदेशी तथा स्वदेशी पर्यटक आउने गर्छन् । निकुञ्ज घुम्न आउने पर्यटकलाई विभिन्न जातजातिमा रहेका विविधता देखाउन सक्ने हो । यहाँको पयर्टन उद्योगमा टेवा पुग्ने भएकोले पनि भाषा ,कला संस्कृति संरक्षण गर्नु पालिकाको दायित्व हो । त्यसकारण पनि पालिकाले विभिन्न जातजातिको लोप हुदैँ गएको कला संस्कृतिको संरक्षणमा काम गर्दै आएको छ ।’
प्रज्ञा प्रतिष्ठान गठन गरी कला संस्कृतिको संरक्षण र प्रर्वद्धनका काम गर्ने ठाकुरबाबा नगरपालिका पहिलो पालिका हो ।