
डम्बर बहादुर परियार ‘निश्चल’ । यो देशको कार्यकारी अधिकारको सँग थियो ? जलजमिन र जङ्गल कसको हातमा थियो? राज्यका सबै शक्तिशाली पदमा को थिए ? सेना, प्रहरी, प्रशासन र कर्मचारी कसले चलायो ? थारूहरूलाई कसले कमैया बनायो ? दलितहरूलाई कसले अछूत बनायो ? मधेसीहरूलाई कसले अनागरिक बनायो ? जनजातिहरूको पहिचान कसले मेटायो ? जनता ६०% निरपेक्ष गरिब कसका कारण भए ? अल्पसङ्ख्यक जातजातिको आत्मसम्मानमा आघात कसले पुऱ्यायो ?
महिलाहरूको अधिकार कसले हरण गरि शोषण कहाँबाट सुरु भएको थियो ? समाजमा तमाम विकृति विसङ्गतिहरू जड को थियो ? नेपाली भूमि कहिले देखि मिचियो ? कर्णाली र सुदूर जिल्लाहरूको विकास बजेट कहाँ र कस्ले दुरुपयोग गर्यो ? आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक रूपमा पछाडि धकेलेर आफ्नो स्वार्थ पुरा गर्न आम नागरिकलाई रैती बनाउने को हो ?

यसको गतिलो जवाफको खोजीमा राष्ट्रको उन्नति र प्रगतिका लागि लोकतन्त्रको आविश्कार भएको हो । राजतन्त्रले २४० वर्ष भन्दा बढी शासन गर्दा गरेको विकास भन्दा यो २० वर्षमा भएको विकास तुलना गर्ने ठाउँ नै छैन । फरक प्रसङ्गमा त्यसको चर्चा गर्न पनि सकिन्छ , बरु यिनै दलहरूका नेता र कार्यकर्ताले गरेको त्याग र बलिदानले देश बद्लिएको हो शासन ब्यवस्था सुदृढ भएको हो । सबै जनतालाई अधिकार सम्पन्न बनाएको पनि साँचो कुरा हो । सबै जातजाति ,बर्ग , क्षेत्र , लिङ्ग, धर्म र संस्कृति माथि गरिएको विभेदको अन्त्यहीन श्रृङ्खलालाई रोक्न , सोही बमोजिमको मौलिक र वैज्ञानिक ढङ्गले समाधान खोजी गर्दै गर्दा लोकतान्त्रिक गणतन्त्र सम्मको लामो इतिहास बनेको हो ।
गणतन्त्र , सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिता सहितको समाजवाद उन्मुख संविधान साझा दस्तावेजको रुपमा जनताकै हातबाट लेखी कार्यान्वयन गर्ने हामी जनताले नै चुनेर आफ्ना प्रतिनिधि पठाएको कुरा समान्य र आकस्मिक परिघटना होइन ।संघर्षसिल नेपाली जनताको महान त्याग, बलिदान र वीरताको उपज हो । बरु संविधान जीवन व्यवहारमा अनुसरण गर्ने कार्यमा इमानदारिता हामी सबैमा हुनुपर्ने हो ।
सबैभन्दा बढी शीर्ष नेताहरूका सिमा र कमजोरीहरु नै प्रमुख कारण हुन, सहि अर्थमा भन्ने हो भने लोकतन्त्रको भरपुर उपयोग गरिब , उत्पीडित जनताले गर्न पाएनन । केही हुँदै भएन भन्ने भास्य निर्माण गर्न खोजिदैँ छ । यसो गरिनु हुँदैन ।परिवर्तन भएको छ, जति हुनुपर्ने हो त्यति भएन भन्ने तिरबाट बहस सुरु गरिनु पर्छ। नेपाली जनताका सपनाहरू पूरा भएका छैनन् ।
भ्रष्टाचार र कमिसनतन्त्रले केही नेताहरू बिगि्रएको हुन । यसको जिम्मेवारि साना ठुला सबै पार्टिका नेताहरूले लिनु पर्छ । देसको विकास र समृद्धि का लागि आसा भरोसा गरिएका नेताहरूको सामुहिक प्रतिबद्धता जनताले फेरी पनि चाहेका छ्न । लोकतन्त्र समस्या होइन , त्यसको दोष यो ब्यवस्थालाई लगाउन पनि हुँदैन । सबै कुराको समाधान लोकतन्त्र मा हुन्छ । लोकतान्त्रिक ढङ्गले हामीले समाधान खोज्ने हो, खोज्नुपर्छ । नेता बदल्ने हो ।
बिकल्प खोज्ने उन्नत विधि नै लोकतन्त्र हो । न, कि राजतन्त्र । निरंकुशता फर्काउने चेस्टा भित्र फेरि पनि उहीँ एकल जातिय अन्यायपुर्ण ब्यवस्था दोहोर्याउने, कासन बाट शासन चलाउने, जनतालाई नागरिक बाट फेरि रैती बनाउने कुत्सित मनसाय कहाँ र कसले बनायो? यो ग्राईन्ड डिजाइन पछाडीको लालसा बुझ्नलाई कुनै आइतबार कुर्नु पर्दैन। तसर्थ सम्पूर्ण लोकतन्त्र प्रेमी सार्बभौमसत्ता सम्पन्न नेपाली जनताले विकसित घटनाक्रमलाई नजिक बाट नियालिरहेका छ्न ।कोहि भ्रममा पर्नु पर्दैन । जनताले भोगेका छ्न , बुझेका पनि छ्न । लोकतन्त्रको पहरेदार जनता हुन । लोकतान्त्रिक गणतन्त्र माथीको आशा भरोसा अझ सशक्त बनाउँदै, समस्या र चुनौतीको सामना गर्न जुनसुकै मूल्यमा सचेत नागरिक पछि पर्ने छैनन । फेरि पनि जनता सक्षम छन् । जनता नै जनार्दन हुन ।


