
ठाकुरबाबा नगरपालिका –९, बेतनीका होटल व्यवसायी तथा होटल व्यवसायी सङ्घ नेपाल, बर्दिया च्याप्टरका अध्यक्ष मोहन चौधरीसँग हामीले बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन सम्भावना, चुनौती र आगामी योजनाका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीका अंशः
१. बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकीय सम्भावना बारे तपाईंको धारणा के छ?

बर्दिया राष्ट्रिय निकुञ्ज जैविक र सांस्कृतिक विविधताको सङ्गम भएको क्षेत्र हो। यो निकुञ्ज थारूहरूको मौलिक संस्कृति, प्राकृतिक विविधता र जैविक सम्पदाले भरिएको छ। सन् २०१९ मा बर्लिनमा आयोजित आइटीबीमा बर्दिया राष्ट्रिय निकुञ्जलाई संसारका सय गन्तव्यहरूमा पर्न सफल हुनु, बाघ संरक्षणमा ‘टाइगर डबल’ लक्ष्य पुरा गर्नु जस्ता उपलब्धिहरूले यसको अन्तर्राष्ट्रिय महत्त्व झल्काउँछन्। अब यसलाई व्यवहार, समृद्धि र रोजगारीमा रूपान्तरण गर्नु हाम्रो प्रमुख चुनौती हो।
२. पर्यटक आकर्षणमा मुख्य चुनौतीहरू के-के छन्?
पहिलो चुनौती हो — शान्तिप्रिय र संस्कृति रुचाउने पर्यटकहरूलाई असहज बनाउने किसिमको ध्वनि प्रदूषण, विशेष गरी लामो समयसम्म बजाइने डिजे। दोस्रो, भौगोलिक टाढापन र कमजोर पूर्वाधारले यातायातमा अवरोध पुगेको छ। तेस्रो, विदेशी पर्यटकहरूलाई दोब्बर भाडा तिर्नुपर्ने विमान भाडा नीति, कमजोर कूटनीतिक पहल र नीति गत जटिलताले पनि समस्या सिर्जना गरेको छ। बफर जोनमा विविधिकरण गर्न नपाइने बाध्यताले पर्यटनको दायरा साँघुरो बनाइरहेको छ। कूटनीतिक कमजोरीका कारण बर्दिया जिल्लामा भित्रिने मुख्य दुई नाका गड्डाचौकी नाका र नेपालगञ्ज भन्सार नाकाबाट पर्यटकहरू भित्रिन पाउँदैनन् भने बर्दिया जिल्लाबाट सजिलै यहाँका पर्यटकहरू जान सक्छन् यसले गर्दा पनि बर्दियामा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
३. पर्यटन व्यवसायीहरूले प्रवर्द्धनका लागि के गरिरहेका छन्?
व्यवसायीहरूले ग्राहकको रुचिअनुसार प्याकेज बनाउँदै आएका छन्। कोहीले होटल सेवा मात्र दिइरहेका छन् भने कोहीले ट्राभल, क्याम्पिङ, र्याफ्टिङ, फिसिङ लगायतका सम्पूर्ण सेवा आफैं सञ्चालन गरिरहेका छन्। मूल्यको हिसाबले सस्तोदेखि महँगोसम्मका विकल्पहरू बजारमा उपलब्ध छन्।
४. आगामी ५ वर्षमा बर्दिया पर्यटन कस्तो देख्नुहुन्छ?
विगतको ट्रेन्ड, पाहुना आगमन र निर्माणाधीन होटलहरूको अवस्था हेर्दा बर्दिया पर्यटनको भविष्य उज्ज्वल देखिन्छ। अग्नि ग्रुप, सुपर्दी ग्रुपजस्ता ठूला व्यवसायिक घरानाहरूको लगानीले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास छ।
५. सरकार र सरोकारवालालाई तपाईंको सन्देश के छ?
पर्यटन व्यवसायीहरूले टाढा क्षेत्रमै पुगेर लगानी गरेका छन्। उनीहरूलाई सम्मान गर्नुपर्छ, नीति नियम बाधक भए सच्याउनुपर्छ। बैंकहरूको उच्च ब्याज दर र अनावश्यक कागजी झन्झटले व्यवसायीलाई निरुत्साहित बनाउँछ। यस्तो हुँदा देशलाई नै घाटा पुग्छ। गर्नेलाई सम्भावना हुन्छ, नगर्नेलाई बहाना मात्रै।


