
दिनेश ठाकुर, गुलरिया । विकास, समृद्धि र संरक्षण स् हाम्रो प्रतिबद्धता, हाम्रो अभियान भन्ने नारासहित गुलरिया नगरपालिकाको न्यायिक समितिद्वारा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
न्यायिक समिति, गुलरियाले आयोजना गरेको उक्त कार्यक्रममा समितिले हालसम्म गरेको कार्यको प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ यादवले आन्दोलनरत शिक्षकहरू प्रति अपिल गर्दै भन्नुभयो,‘ अहिले वैशाखको पहिलो चरण सकिन लागेको छ, विद्यार्थीहरूको भर्ना प्रक्रिया रोकिएको छ। विद्यार्थीहरूको भविष्य तपाईँहरूको हातमा छ। कृपया आन्दोलन छोडेर कक्षामा फर्कनुहोस् । उहाँले सरकारलाई पनि शिक्षकको माग सम्बोधन गर्न अनुरोध आग्रह गर्नुभयो ।

न्यायिक समितिको कार्य विवरण
नेपालको संविधानको धारा २१७ अनुसार गठित न्यायिक समितिको संयोजक उपप्रमुख सावित्रा गौतम हुनुहुन्छ । भने सदस्यमा सीता श्रेष्ठ र शान्ता सुनार हुनुहुन्छ । पालिकाका अधिकृत कपिल घिमिरेका अनुसार न्यायिक समितिमा आर्थिक वर्ष ०७४/ ०७५ देखि हालसम्म विभिन्न प्रकृतिका १६९ मुद्दा दर्ता भएका छन्। जसमध्ये धेरैजसो मुद्दा फछर्यौट भइसकेका छन्। चालु आर्थिक वर्ष ०८१/०८२ को चैतसम्ममा ४३ वटा मुद्दा दर्ता भएकोमा २१ वटा फछर्यौट भइसकेका छ । भने बाँकी मुद्दाहरू कारबाहीको प्रक्रियामा रहेका छन् ।
जग्गा सम्बन्धी १९ मध्ये १० वटा मुद्दा फछर्यौट भएका छन्। लेनदेन प्रकृतिका ११ मध्ये सातवटा मेलमिलापबाट टुङ्गिएका छन्। पतिपत्नी विवाद सम्बन्धी सात मध्ये चारवटा मेलमिलापमा समाधान भएका छन्। अन्य मुद्दाहरूमा बाटो खुलाइ, घरवाला, तथा अन्य फुटकर निवेदनहरू छन्। ४० वटा निवेदन छलफलमार्फत समाधान गरिएको न्यायिक समितिले जानकारी दिएको छ ।
सप्तरङ्गी मञ्च बर्दियाको सहकार्यमा लागू औषध दुरुपयोग र बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि १२ वटै वडामा गरिएको छ जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट समेत केही मुद्दाहरू न्यायिक समितिमा सिफारिस हुने गरेको छ।
प्रत्येक शुक्रबार समितिको इजलास बस्ने गरिएको छ भने आवश्यकताअनुसार बन्द इजलासमा महिला तथा बालबालिकासम्बन्धी मुद्दा हेर्ने गरिएको छ।
आय–व्यय विवरण सार्वजनिक
लेखा अधिकृत रूपसिंह खत्रीले नगरपालिकाको आयव्यय विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा कुल आयमध्ये करिब ६७५ राजस्व सङ्घीय सरकारबाट बाँडफाँड र आन्तरिक स्रोतबाट आएको बताए। चालु खर्च ६२५ र पुँजीगत खर्च ४३५ रहेको जानकारी गराउँदै चालु आर्थिक वर्षको अन्त्यसम्म ९०५ खर्च गर्न सकिने लक्ष्य रहेको बताउनु भयो । उहाँका अनुसार अनुसार गुलरिया नगरपालिका बर्दियाकै अन्य पालिकाहरूको तुलनामा खर्च, आय संकलन र योजनाको कार्यान्वयनमा अग्रस्थानमा रहेको छ।
अन्तरक्रिया कार्यक्रममार्फत न्यायिक समितिको कार्य, बजेटको पारदर्शिता र नगरका सामाजिक मुद्दाहरूमा समग्र जानकारी दिइएको थियो । नगरप्रमुख यादवको शिक्षकप्रतिको भावुक अपिलले पनि कार्यक्रममा विशेष ध्यान खिचेको थियो ।


