
प्रकाश पौडेल, गुलरिया । बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा कुकुरले टोकेका बिरामीले सास्ती भोग्नु परेको छ । कुकुर, बिरालो लगायतका जङ्गली जनावरको टोकाइबाट लाग्ने प्राण घातक रोग रेबिज विरुद्धको एन्टी रेबिज भ्याक्सिन स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले सास्ती भोग्नु परेको हो।
रेबिज रोग कुकुर, बिरालो, न्याउरी मुसा, स्याल ब्वाँसो चमेराको टोकाइबाट लाग्ने रोग हो । बर्दियामा रहेका स्वास्थ्य संस्थामा रेबिज भ्याक्सिन नभएपछि स्वास्थ्य संस्थाले नै रेबिजको भ्याक्सिन लगाउन बाहिर पठाउन बाध्य भएका छन् । रेबिज रोग शत प्रतिशत प्राण घातक रोग हो । यो रोग लागेपछि रोगको उपचार सम्भव छैन । रेबिज रोगबाट बच्ने एक मात्र उपाय भनेको एन्टी रेबिज भ्याक्सिन हो । सरकारले अत्यावश्यक ठानेर रोग एन्टी रेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउँने भने, पनि पर्याप्त मात्रामा भ्याक्सिन नपठाउँदा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ ।

लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले समयमा खोपको अभाव भएको छ भने बिरामीहरू सुई नलगाई फर्कन बाध्य छन् । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन बर्दिया जिल्ला अस्पतालमा ०८१ चैत १९ गते राजापुर प्राथमिक केन्द्र, राजापुरमा ०८१ फागुन २९ गते, ठाकुरबाबा नगरपालिकामा चैत्र १४ गते सकिएको छ । ठाकुरबाबा नगरपालिकाले आन्तरिक बजेटबाट रेबिज भ्याक्सिनको खरिद गरी भ्याक्सिनको अभाव हुन दिएको छैन भने अन्य ठाउँमा भ्याक्सिनको अभाव भएको छ । चालु आर्थिक वर्ष ०८१/८२ को चैत्रसम्ममा ९ सय ५४ जनाले, आर्थिक वर्ष ०८०/८१ मा १ हजार २ सय ८ जनाले, आर्थिक वर्ष ०७९/८० मा १ हजार ४ सय २३ जनाले खोप लगाएको लगाएको बर्दिया अस्पताल गुलरियाको तथ्याङ्क रहेको छ ।
अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि माग अनुसारको भ्याक्सिन नहुँदा बिरामीहरू भ्याक्सिन नपाएर फर्किनु पर्ने बाध्यता रहेको बर्दिया अस्पताल, गुलरियाका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो – ‘एण्टी रेबिजको भ्याक्सिन लगाउन आउने बिरामीको सङ्ख्या बढेको छ । तर लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप छैन । जसका कारण बिरामी खोप नलगाएर फर्किनु पर्ने बाध्यता रहेको छ ।’ प्रत्येक वर्ष जनावरले टोकेर आउने बिरामीको सङ्ख्या बढिरहेको भए पनि प्रत्येक वर्ष खोपको अभाव हुने गरेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीले बर्दियामा भ्याक्सिन नभएको विषयमा जानकारी गराएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले सेवा प्रदायक संस्थामा सिधै खोप पठाउने गरेको छ । तर कहिलेकाँही स्वास्थ्य कार्यालयले पनि खोप आपूर्ति व्यवस्थापन केन्द्रबाट ल्याएर सेवा केन्द्रसँग पुर्याउने काम गरेको छ । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै खोप अभाव भएकोले जिल्ला पनि अभाव भएको छ ।’


