
झापा । मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्यांक अनुसार रु. तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ।
चालू आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। गत आव ०८०/८१ को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो।

कार्यालयको तथ्यांक अनुसार चालू आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ। चालू आवको दश महिनामा रु. ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार बराबरको अलैँची निर्यात भएको छ। गत आव ०८०/८१ को सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो।
भेनियर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यात ८४४.३० प्रतिशतले वृद्धि भएको छ। यसैगरी, सिमेन्ट क्लिंकर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५.४० प्रतिशत, अम्रिसो निर्यात १३ प्रतिशतले कमी आएको छ।
मेची भन्सारबाट चालू आवको १० महिनामा रु. २१ अर्ब ४५ करोड ९३ लाख २३ हजारको मालवस्तु निर्यात भएको छ।
# रासस


