लागूऔषधसहित चालक र सहचालक पक्राउ

बर्दिया। लागूऔषधसहित भ्यानका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–१ चेपाङ रत्नराजमार्गबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका–२ डाँङ्गीबाडाका २८ वर्षीय लोकेन्द्र खत्री र कनका सुन्दरी गाउँपालिका–४ धोबीघाटका २४ वर्षीय नरेश बीसी रहेका छन् ।
भे १ ज ८९८ नम्बरको इको भ्यानका खत्री चालक र बीसी सहचालक रहेको प्रहरीले पुष्टि गरेको छ । शंकास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लुकाइछिपाई प्लाष्टिकमा राखेको दुई पुरिया ३ ग्राम २ सय ६० मिलीग्राम खैरो रंगको धुलो पदार्थ लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिनुभयो।


